सिनेमा हल खुले तर दर्शक न्यून
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । कोरोना संक्रमणको जोखमका बाबजुद पनि बिहीबारदेखि सिनेमा हलहरु सञ्चालनमा आएका छन् । घटस्थापनाको अवसर पारेर देशभरका सिनेमाघरहरू पुनः सञ्चालनमा आएका हुन् । तर, दर्शक भने खाशै देखिएका छैनन् ।

दर्शकको न्यून उपस्थितिको अवस्थामा फिल्म निर्माता एवं प्रदर्शकलाई विभिन्न राहत तथा सहुलियत प्रदान गरी हल सञ्चालनमा ल्याएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको भनाइ छ । निर्माताहरूलाई प्रोत्साहित गर्नका लागि विभिन्न राहत प्याकेज अघि सारेर नेपाली चलचित्र क्षेत्रलाई चलायमान गर्न हल सञ्चालनमा ल्याउनुको विकल्प नरहेको उनले बताए । उनका अनुसार विकास बोर्डले पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ व्यहोर्ने भएको छ ।

चलचित्र विकास बोर्डले मंगलवार चलचित्रकर्मीलाई राहतसँगै चलचित्रहरूको प्रदर्शन मिति घोषणा गर्ने कार्यक्रम राखेको थियो । तर, त्यसदिन कुनैपनि चलचित्रको प्रदर्शन घोषणा हुन सकेन । हरेक वर्ष दशैँको फूलपातीका दिन नेपाली चलचित्र प्रदर्शनका लागि हानथाप हुन्थ्यो । तर, यस पटक विकास बोर्डले राहत उपलब्ध गराउँदासमेत चलचित्रहरू प्रदर्शनका लागि तयार भएएका छैनन् ।

‘प्रेम गीत ३’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘माइकल अधिकारी’जस्ता ठुलो बजेटका चलचित्र बनिसकेका छन् । तर, तीमध्ये कुनैपनि चलचित्रको प्रदर्शन मिति तय भएको छैन । निर्माताको लगानी ‘बालुवामा पानी हालेसरह’ नहोस् भन्ने हेतुले ठुला बजेटको फिल्मलाई अघि नसारेको चलचित्र निर्माता संकका अध्यक्ष आकाश अधिकारीको दाबी छ । पुस मसान्तसम्ममा प्रतीक्षारत केही चलचित्र दर्शकले हेर्न पाउने गरी छलफल भइरहेको अधिकारीको भनाइ छ ।

नेपाली चलचित्रको लगानीकर्ताहरूको छाता संगठन चलचित्र निर्माता संघ र सिनेमाघरहरूको सङ्गठन चलचित्र संघको सहकार्यमा सिनेमाघर पुनः सञ्चालनमा आएको हो । दुई वटा संघले संयुक्त समिति गठन गरी समस्या पहिचान, समाधानको उपाय खोजी र चलचित्र विकास बोर्डसँग समन्वय गरिरहेको छ ।

क्यूज सिनेमाका सञ्चालक सुमित मैनालीका अनुसार बिहीबार ‘फास्ट एन्ड फ्यूरियस–९’ प्रदर्शन घोषणा गरिएपनि दर्शकको उपस्थिति उत्साहजनक छैन । ‘विदेशमा डेढ महिनाअघि चलिसकेको सिनेमा नेपालमा बल्ल ल्याउनुका कारण दर्शकमा उत्साह नभएकाले नै हो । दर्शकको शून्य उपस्थितिमा हल सञ्चालन गर्नु भनेको एउटै पर्दामा दैनिक ५० हजार घाटा व्यहोर्नु हो’ मैनालीले बिबिसीसँग भनेका छन् । सी, बत्ती, पर्दा आदीमा बिजुलीको खर्च, सुरक्षाकर्मीदेखि सफाइ कर्मचारीको खर्च, सरसफाइ आदिका लागि हुने खर्चले हल सञ्चालकहरू मारमा पर्ने बताए ।

क्यूएफएक्सले काठमाण्डू उपत्यकाका तीन वटा हलमात्र सञ्चालनमा ल्याएको छ । मोफसलका चेनहरू भने अझै बन्द नै छन् । ‘पहिलो दिन सिभिल मल, लाबिम मल र छायाँ सेन्टरका सबै हलहरूमा क्षमताको २० प्रतिशत दर्शक आएका छन् । बिस्तारै बढ्दै जान्छ भन्ने आशा छ । नेपाली फिल्मसमेत प्रदर्शनमा आयो भने दर्शक आकर्षित हुन सक्छन्’ क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए । महामारीको जोखिम कायम रहेका कारण दर्शक बन्द सिनेमाघरहरूमा आउन डराएको हुनसक्ने अनुमान उनले गरे ।

राष्ट्र बैंकले पाँच सय डलरसम्मको डलर अकाउन्ट बनाउने प्रावधान खुला गरेदेखि नेपालबाट नेटफ्लिक्स, एमजनजस्ता डिजिटल प्ल्याटफर्मको सब्सक्रिप्सन लिन सहज बनेको छ । त्यसअघि नेपाली कार्डबाट अन्तर्राष्ट्रिय प्ल्याटफर्म पैसा तिर्न मिल्ने व्यवस्था थिएन । अनलाइनमा समय बिताउने पुस्ताका लागि जारी लकडाउनबीच राष्ट्र बैंकले ल्याएको नीति आकर्षक सुविधा बनेर घरमै आफूले चाहेको सिनेमा हेर्न पाउने भएकाले दर्शक कम भएको अनुमान गरिएको छ । (बिबिसी)

प्रतिक्रिया