संविधानको भावनाअनुसार ओली प्रधानमन्त्री हुन सक्दैनन् : देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

काठमाडौं, ८ जेठ । शुक्रबार मध्यराति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनावको मिति घोषणा गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा इन्कार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले अल्पमतमा परिसकेका केपी शर्मा ओलीले निरन्तरता दिएको भन्दै संविधानको भावनाअनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने बताएका छन् । बहुमत देखाउन नसक्ने स्वयंम घोषणा गरिसकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिले गरेको उनले बताएका छन् ।

भन्दै विज्ञप्तिमा भनिएको छ, ‘मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियषुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयंम घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिले गरिन् ।’

संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको देउवाको आरोप छ । गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने प्रतिवद्धतासमेत देउवाले जनाएका छन् ।

प्रतिक्रिया