फिचर

सर्वोच्चमा प्रचण्ड : ‘अदालतले आफ्नो कानूनी जिम्मेवारीको सीमा नाघ्यो’

काठमाडौं, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिएका छन् ।
नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालतमा पुगेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘यो केवल राजनीतिक आग्रह पूर्वाग्रहले मुलुकको वर्तमान राजनीतिमा कसैलाई सहज र कसैलाई असहज परिस्थिति सिर्जना गरिदिने, एकीकरण भइसकेको दललाई टुक्र्याउने, अलग–अलग दल कायम गरी दिने, दल गठन र विघटन जस्तो विशुद्ध राजनीतिक विषयमा प्रवेश गरी अदालतले आफ्नो संवैधानिक र कानूनी जिम्मेवारीको सीमा रेखा नाघेको प्रष्ट देखिएको छ ।’
निवेदनमा भनिएको छ, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि, कोही पनि बाँकी रहँदैन । त्यसको प्रत्यक्ष प्रभावको भागिदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्तछ ।’
एकीकृत दलको नाम दर्ता भइसकेको दलको नामसँग मिल्न गएको भए अर्को नाम प्रस्ताव गर्न पाउने मौकाबाट समेत बन्चित गरिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत मात्र नभई राजनीतिक विषयवस्तुमा प्रवेश गरी राजनीतिक अनुकुलता र प्रतिकुलता सिर्जना गर्ने काम भएको उनले बताएका छन् ।
अध्यक्ष प्रचण्डले भनेका छन्, ‘मिल्दोजुल्दो हो भने अर्को नाम राख्ने वा प्रस्ताव गर्ने मौका प्रत्यर्थीलाई दिनुपर्ने सामान्य समझको व्यक्तिले पनि सहज रुपमा बुझ्ने विषय छ, जो प्राकृतिक न्यायको सिद्धान्तमा आधारित छ ।’ उनले जन्मिसकेको व्यक्तिको नामको विवादले उसको अस्तित्व नै नरहेको भनी जबरजस्ती मार्न वा अस्तित्व समाप्त गर्न नमिल्ने तर्क गरेका छन् ।
प्रचण्डले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई सर्वोच्च अदालतकै संवैधानिक इजलासले संसद बिघटनसम्बन्धी मुद्दामा स्वीकार गरी बहुमत प्राप्त एकीकृत दलको नेता नै संविधानको धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त भएको मान्यता दिएको पनि उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले उक्त फैसला पुनरावलोकन गरी त्रुटिपूर्ण आदेश बदर गरी संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी ऐन बमोजिम एकीकरण भएको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) यथावत कायम गर्न माग गरेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top