कोरोना समुदायस्तरमा फैलिएको बारे अध्ययन सुरु
अखबार टुडे
प्रकाशित:
२०७७, २३ आश्विन

काठमाडौं, २३ असोज । पछिल्लो एक सातायता नेपालमा दैनिक कोरोना संक्रमित बढ्दै गएका छन् । नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको आशंका समेत गरिएको छ । यसैक्रममा सरकारले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा आज शुक्रबारदेखि ‘एन्टिबडी’ परीक्षण टोली खटाएको छ । विज्ञसहितको प्राविधिक टोली सातवटै प्रदेशमा खटाएको हो ।
महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको हो । सो अध्ययनबाट समुदायस्तरमा स्रक्रमण फैलिएको छ वा छैन भन्ने थाहा हुने उनले बताए ।
महाशाखाका अनुसार एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिनेछ । परीक्षण टोली शुक्रबार सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना संकलन गर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्रै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।
नेपालमा पहिलोपटक गत माघ १० गते संक्रमण देखिएको थियो । हाल आएर नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ७१ हजार ३४३ जना निको भइसकेका छन् । त्यस्तै, नेपालमा कोरोनाबाट बिहीबार साँझसम्ममा ५९० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया