तस्बिरमा प्रजातन्त्र दिवश
अखबार टुडे
प्रकाशित:
२०७७, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । प्रजातन्त्र दिवशको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।


यसै अवसरमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस अंकित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।


समारोहमा ज्ञात–अज्ञात शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका संघ संस्थाबाट मार्चपास गरिएको थियो ।

प्रतिक्रिया