प्रेम नेचुरल कुरा हो : विष्णु चेम्जोङ, अभिनेत्री
अखबार टुडे
प्रकाशित:
२०७७, १३ भाद्र

फिल्म र गीतसंगीत फरक विधा भएर पनि ‘पर्यावाची’ मानिन्छ । तर, विडम्बना ती दुवै विधा अँगाल्नेहरुले सफलता पाएको भने कमैमात्र देखिन्छ । गायक राजेशपायल राईदेखि यसकुमारसम्मले फिल्ममा अभिनय गरे । तर, उनीहरुलाई फिल्मी अभिनय फापेन । त्यस्तै, अभिनेत्री प्रियंका कार्कीले गाएको गीत श्रोताले रुचाएनन् । सन्दर्भ गायिका तथा अभिनेत्री विष्णु चेम्जोङसँग जोड्न खोजिएको हो । विष्णु गायिकामात्र नभएर अभिनेत्री एवं मोडल पनि हुन् । गायन रियालिटी शो ‘नेपाल स्टार’ विजेता बनेपछि सांगीतिक करिअर सुरु गरेकी विष्णुले ‘तारेभीर’लगायतका नेपाली फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माणक्रममै छ । तर, विष्णुलाई पनि फिल्म खाशै फापेको छैन । सयौँ गीत गाएर चर्चामा आएकी विष्णु भन्छिन्, ‘फिल्मले मेरो करिअरमा कुनै ‘प्लसप्वाइन्ट’ गरेन, उल्टै मेरो गायन ओझेलमा प¥यो ।’ हालैमात्र ‘हल्का हल्का’ गीत रिलिज गरेकी गायिका तथा अभिनेत्री विष्णु चेम्जोङसँग जम्काभेट ।

हिजोआज खाशै देखिनुहुन्न । के गर्दै हुनुहुन्छ ?
– गीतसंगीत क्षेत्रमै छु । आफ्नो गीतहरु गर्दैछु । चाँडै भिडियोसहित एउटा गीत सार्वजनिक गर्दैछु । त्यसबाहेक रेकर्डिङ र प्रोगामहरु पनि गरिरहेकी छु ।
तर, गायन क्षेत्रमा तपाइँको खाशै चर्चा छैन नि ?
– मैले कमैमात्र कार्यक्रमहरु गरिररहेकी छु । त्यसैले होला । म जस्तोसुकै कार्यक्रम गर्दिनँ । मैले गर्ने कार्यक्रम ‘सेलेक्टेड’ हुन्छ । त्यसैले होला ।
फिल्मी अभिनयमा लागेपछि आफ्नो सांगीतिक करिअरमा असर परेजस्तो लागेको छैन ?
– अहिले त्यस्तै अनुभव भइरहेको छ । जुनबेला म गायनमा सिमित थिएँ, त्यो बेलासम्म मेरो राम्रै थियो । तर, जब फिल्ममा काम गर्न थालेँ, त्यसपछि गायनलाई पुर्ण रुपमा समय दिन पाइनँ । फिल्मका काम गरिरहँदा थुप्रै सांगीतिक प्रोजेक्टहरु मिस गरेँ, जसको असर मेरो सांगीतिक करिअरमा प¥यो ।
फिल्मी अभिनयमा चाहिँ के सोचेर प्रवेश गर्नुभयो ?
– सुरुका दिनमा फिल्ममा अभिनय गर्ने कुनै सोच र इच्छा थिएन । गायनचाहिँ मेरो बच्चापनदेखिकै ‘प्यासन’ हो । तर, अचानक फिल्ममा प्रस्ताव आयो । गायन र अभिनय आखिर एउटै पाटो हो भन्ने लागेर प्रस्ताव स्वीकारेँ । तर, फिल्मी अभिनयले मेरो गायनलाई असर पार्ला भन्ने सोचिनँ ।
‘नेपाल स्टार’ बनेपछि गायन क्षेत्रमा चर्चामा हुनुहुन्थ्यो । त्यहीँबेला हिरोइनका लागि अफर आउँदा के सोच्नुभएको थियो ?
– केही सोच्नै पाइनँ । अभिनयमा पनि अलि–अलि रहर थियो । त्यसैले एक्साइटेडचाहिँ भएँ । सायद उमेरले गर्दा पनि होला । त्योबेला उमेर कमै थियो । तर, जब फिल्मको सेटमा बसेँ, तब थाहा भयो कि फिल्ममा डाइलग बोल्नुपर्छ र अभिनय गर्नुपर्छ भन्ने ।
तपाइँलाई गाउन र अभिनय गर्न कुन सजिलो लाग्छ ?
– दुईटै सजिलो छैन । अझ अभिनयभन्दा गीत गाउन गाह्रो छ किनकि, अभिनयमा ‘बडिल्याङग्वेज’बाटै बुझाउन सकिन्छ । तर, गायनमा भोकलले बुझाउन सक्नुपर्छ ।
सुरुमा ‘सेलेक्टेड’मात्र काम गर्छु भन्नुभएको थियो । अहिलेसम्म काम गरेका सबै तपाइँका सेलेक्टेड हुन् ?
– धेरैजसो सेलेक्टेड नै छन् । तर, कतिपय कामहरु आफूले गर्न नचाहेर पनि गर्नुपर्ने हुन्छ । साथीभाई, आफ्ना–आफन्तले कर गरेपछि ‘नाइँ’ भन्न सकिँदैन । त्यसैले चित्त नबुझेपनि काम गर्नुपर्छ ।
तपाइँको ‘सेलेक्टेड’ फिल्म कस्तो हुनसक्छ ?
– जनराले कुनै फरक पर्दैन । तर, स्क्रिप्टमा जस्तो छ, त्यस्तै भएर फिल्म आउनुपर्छ । यहाँ स्क्रिप्ट सुनाउँदा एउटा र फिल्म बनेर आउँदा अर्कै हुन्छ । त्यस्तो फिल्मचाहिँ गर्दिनँ ।
तपाइँ म्यारिड होइन त ?
– हो, तर, मलाई श्रीमानको पूर्ण सर्पोट छ । उहाँकै साथ र हौसलाले अहिले काम गरिरहेकी छु । उहाँ पनि यही क्षेत्रको हुनुहुन्छ ।
तपाइँहरुको प्रेम विवाह हो ?
– त्यही भन्नुपर्ला । तर, हामी कहिल्यै प्रेमी–प्रमिका भएनौँ । हामीबीच प्रेम नहुँदा पनि बाहिरचाहिँ यिनीहरु प्रेममा छन् भन्ने हल्ला चल्थ्यो । हामी एकै ठाउँको हो । त्यसैले एक–अर्कालाई गुलाबको फूल दिएर प्रेम प्रस्ताव राखेनौँ ।
अहिले पनि प्रेम प्रस्ताव त आउँछ होला नि ?
– अवश्य । प्रेम प्रस्ताव त आइरहन्छ । यो नेचुरल कुरा हो । मलाई खुसी नै लाग्छ । कसैले प्रेम प्रस्ताव राखेको कुरा घरमा आएर श्रीमान सुनाउँछु । उहाँले पनि इजिली लिनुहुन्छ ।

  • दृष्टिबाट
प्रतिक्रिया