भारत र चीनबीच विवादित सीमा गस्तीसम्बन्धी सम्झौता
अखबार टुडे
प्रकाशित:
२०८१, ६ कार्तिक

काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एलसीमा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जनाएको हो ।

भारतीय विदेशसचिव विक्रम मिस्रीका अनुसार भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा हो यो । यद्यपि, यस सम्झौताको विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । त्यसो त विगतमा पनि यस्तो सम्झौता नभएको भने होइन, तर सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव अन्त्य भएको छैन ।

सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भारतको निजी समाचार च्यानल एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको बताए । यसबारे थप जानकारी आगामी दिनमा सार्वजनिक हुने उनको भनाइ छ ।

उनले सन् २०२० सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो । सन् २०२० को सीमा झडपपछि दुवै पक्षले १०औं हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका थिए । तर, त्यहाँसम्म फेरि गस्ती गर्न पाउने बताएका छन् ।

‘एलसीमा सन् २०२० भन्दा पहिले जस्तो स्थिति थियो त्यो स्थिति बहाल हुने छ । यो एक महत्वपूर्ण घटनाक्रम हो’ उनले भने, ‘तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ ।’

भारत र चीनबीच गस्तीका विषयमा भएको सम्झौतालाई कतिपय जानकारले सम्बन्ध सुधारको राम्रो सुरुवात भएको टिप्पणी गरेका छन् । भारत–चीन मामलाका जानकार चिन्तामणि महापात्राले भनेका छन्, ‘तनाव अन्त्यको यो राम्रो सुरुवात हो ।

किनभने केही महिनायता कूटनीतिक र सैन्य स्तरमा भारत र चीनबीच जे वार्ता भएको थियो, यो त्यसैको नतिजा हो । तर केबल एक सम्झौताले मात्रै दुई देशबचीको सबै तनाव अन्त्य हुँदैन ।’ तर, सम्बन्ध सामान्य हुने प्रक्रियामा भने यसलाई पहिलो कदमको रुपमा लिन सकिने उनले बताएका छन् ।

भारत आफ्नो उत्तरी छिमेकीप्रति सतर्क छ । दुवै मुलुकको ३ हजार ५ सय किलोमिटर लामो सीमानामा विवादहरू स्थायी तनावका स्रोत हुन् ।

चीनले भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै सम्पूर्ण दाबी गर्छ । दुई देशबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । दुवै मुलुकले दक्षिण एसियाभर व्यापक रणनीतिक प्रभावका लागि पनि कडा प्रतिस्पर्धा गर्छन् ।

प्रतिक्रिया