यी हुन् बंगलादेशको राजनीतिक उथलपुथलका नायक
अखबार टुडे
प्रकाशित:
२०८१, २५ श्रावण

काठमाडौं । बंगलादेशमा नोबेल शान्ति विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व लिएका छन् । उनले बिहीबार साँझ बंगलादेशको अन्तरिम सरकार प्रमुखको सपथ लिएका हुन् ।

अर्थशास्त्री युनुसको नेतृत्वमा १६ सदस्यीय अन्तरिम मन्त्रिपरिषद गठन भएको छ । करिब एक महिना लामो विशाल जनप्रदर्शनपछि शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासित भएको तेस्रो दिन बिहीबार युनुसले अन्तरिम सरकारको नेतृत्व ग्रहण गरेका हुन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथ लिँदै ८४ वर्षीय युनुसले भने, ‘म पूर्ण निष्ठाका साथ संविधानको रक्षा गर्नेछु ।’

विद्यार्थी नेता पनि मन्त्री
युनुस नेतृत्वको १६ सदस्यीय अन्तरिम सरकारमा पछिल्लो आन्दोलन नेतृत्व गरेका विद्यार्थी नेताहरू नाहिद इस्लामी र असिम महमुद पनि सदस्य छन् । बंगलादेशी अखबार ‘द डेली स्टार’का अनुसार त्यसबाहेक नागरिक समाजका नेता, कूटनीतिज्ञ र पूर्वजनरललाई सरकारमा सामेल गरिएको छ ।

आरक्षण प्रणालीविरूद्ध बंगलादेशमा एक महिनासम्म चलेको सरकारविरोधी प्रदर्शन अन्ततः शेख हसिना नेतृत्वको सरकार ढल्न पुग्यो । हसिनालाई सत्ताच्यूत गराउनमा २६ वर्षीय नाहिद इस्लामीको नेतृत्वदायी भूमिका रहेको थियो । अन्तर्राष्ट्रिय तथा स्थानीय मिडियाका अनुसार आन्दोलन अवधिभर विद्यार्थी संगठित गर्नेदेखि नेतृत्व गर्नेमा इस्लामीको नाम सबभन्दा बढी चर्चामा थियो ।

यतिसम्म कि उनले हसिना भारत निर्वासित भएपछि सैन्य नेतृत्वको सरकार नस्वीकार्ने चुनौती पनि उनैले दिएका थिए । नोबेल विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने सिफारिस पनि उनैले गरेका थिए ।

ढाकास्थित ढाका विश्वविद्यालयको समाजशास्त्र विभागका विद्यार्थी २६ वर्षीय इस्लामी समाजशास्त्रका विद्यार्थी हुन् । बंगलादेशको हालैको राजनीतिक उथलपुथलमा उनको प्रमुख भूमिका थियो । आफ्नो निधारमा बंगलादेशी झण्डा बाँधेर उनी विद्यार्थी आन्दोलनको नेतृत्व गर्थे ।

भनिन्छ, युनुसकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने सूचना सार्वजनिक गर्ने पनि नाहिद नै हुन् । पछिल्ला घटनाक्रमले बंगलादेशको आन्दोलनमा इस्लामीको भूमिका कति महत्वपूर्ण थियो भन्ने झल्काउँछ । उनलाई कतिपयले बंगलादेशको आन्दोलनका ‘नायक’ भनेका छन् ।

आन्दोलनरत युवा तथा विद्यार्थीका तर्फबाट युनुसको नाम सिफारिस भएपछि उनलाई अन्तरिम सरकारको नेतृत्व गर्न फ्रान्सबाट बोलाइको थियो ।

प्रतिक्रिया