
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतबाट रिहा भएका हुन् ।
रिहा भएसँगै सञ्चारकर्मीसँग उनले भने, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको बताए । साथै, तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने पनि उनले बताए ।
‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ’ प्रसाइँले भने, ‘जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो ।’
ञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ ।’
प्रसाईंलाई साइबर अपराधको कसुरमा भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटेलगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
