अर्बौ डलर घोटाला गरेको आरोपमा भियतनामी अर्बपति लानलाई मृत्युदण्डको सजाय
अखबार टुडे
प्रकाशित:
२०८०, २९ चैत्र

काठमाडौं । भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घरजग्गा कारोबार गर्ने ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ । उनी घर–जग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्षसमेत हुन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो ।

लानमाथि घुसखोरी, बैंकका नीति नियमको उल्लंघन र रकम हिनामिना गरेको आरोप छ । उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब घोटाला गरेको समाचारमा बताइएको छ । लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन् ।

देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन् । अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार यसमा २७ सय जना मानिसको बयान लिइएको थियो । १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन् । लानविरूद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा थिए । जसको तौल ६ टन रहेको समाचारमा उल्लेख छ ।

को हुन् लान ?

हो चि मिन सहरकी लानले आमासँग आफ्नो व्यापारिक यात्रा कस्मेटिक्स सामग्री बेचेर सुरू गरेकी थिइन् । उनी चिनियाँ मूलकी हुन् । सन् १९८६ देखि उनले घर जग्गा जोड्न थालिसकेकी थिइन् । सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै होटल तथा रेष्टुरेन्टहरू खडा गरिसकेकी थिइन् ।

समाचारहरुमा उल्लेख भएअनुसार सन् २०११ सम्म लान एक परिचित व्यापारीको रूपमा उदाइसकेकी थिइन् । उनले त्यतिबेला तीनवटा साना बैंकलाई मर्ज गरी साइगोन कमर्सियल बैंक खडा गरिन् ।

भियतनामी कानुनअनुसार कुनैपनि व्यक्तिले बैंकको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन । तर उनले सयौं नक्कली कम्पनी र मानिसहरू खडा गरी बैंकको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन् ।

उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो । सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन् । ्

कम्युनिस्ट पार्टीले किन यो बाटो रोज्यो ?

मार्क्सवादका सिद्धान्तप्रति प्रतिबद्ध परम्परावादी विचारक नुइन फू चान अनियन्त्रित भ्रष्टाचारप्रतिको मानिसहरूको आक्रोशले कम्युनिस्ट पार्टीको शक्तिमाथिको एकाधिकारप्रति गम्भीर खतरा उत्पन्न गराउने ठान्छन् ।

सन् २०१६ मा व्यापार पक्षधर नीतिहरूको पैरवी गर्ने तात्कालिक प्रधानमन्त्रीलाई पाखा लगाउँदै पार्टीको मुख्य जिम्मेवारीमा उनले आफ्नो निरन्तरता कायम राखे ।

उनको अभियानले दुई राष्ट्रपति र दुई उपप्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको छ र सयौँ अधिकारीहरूलाई कारबाही गरिएको छ वा जेलमा हालिएको छ । अहिले देशकै एक सर्वाधिक धनी महिला पनि त्यो सूचीमा परेकी छन् ।

पहिला साइगन भनिने उक्त सहरमा चिनियाँ मूलका मानिसहरूको ठूलो उपस्थिति छ । कम्युनिस्टविरोधी दक्षिण भियतनामको राजधानी भएको समयदेखि नै उक्त सहर देशको अर्थतन्त्रको मुख्य इन्जिन हो ।

उनले आफ्नी आमासँगै बजारमा शृङ्गारका सामान बेचिन् । कम्युनिस्ट पार्टीले ‘दोई मोई’ नामक आर्थिक सुधार थालेदेखि सन् १९८६ मै उनी घरजग्गा किन्न थालिन् । सन् १९९० को दशकमा धेरै होटल र रेस्टुराँहरू उनको स्वामित्वमा थिए ।

भियतनाममा तीव्र गतिमा उत्पादनशील क्षेत्र विस्तार भइरहेको छ । आपूर्तिकर्ताका रूपमा भियतनामलाई चीनको विकल्पका रूपमा हेर्न थालिएको छ । अधिकांश धनाढ्य भियतनामीहरूले घरजग्गाजस्ता सम्पत्तिबाटै प्रशस्त आम्दानी गरेका छन् ।

त्यहाँ सबै जमिन राज्यको स्वामित्वमा हुन्छ । तर, त्यसमा पहुँच पाउन सरकारी अधिकारीहरूसँगको सम्बन्धले भूमिका खेल्छ । अर्थतन्त्र विस्तार भइरहँदा भ्रष्टाचार बढ्यो र त्यसले एउटा विकराल समस्याको रूप लिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया