काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिको आधार सुशासनलाई बनाउनुपर्ने बताएकी छन् । नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोस्रो साधारणसभा उद्घाटन गर्दै उनले सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।
‘हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्याको रुपमा रहेको छ’ उनले भनिन्, ‘सरकारी क्षेत्र क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायतका धेरै समस्या देखिने गरेका छन् ।’
यी समस्या समाधान गर्न सुशासनलाई समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्ने र त्यसका लाग सरकारले सुशासन र सामाजिक न्यायलाई समृद्ध राष्ट्र निर्माणको आधार बनाउन खोजेको पनि बताइन् । हिजो निरंकुशतन्त्रले जनताका अधिकारहरु कण्ठित भएको बेलामा राजनीतिक अधिकारको एजेण्डा प्रधान भएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि आफूहरु सशस्त्र जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर आएको स्मरण गराइन् ।
अब फेरिएको राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने एजेण्डा प्रमुख बन्न गएको उल्लेख गर्दै उनले भनिन्, ‘अब जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।’
नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रुपमा कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यी चारै क्षेत्रमा व्यक्तिगत वा सामूहिक लगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चित गर्ने र त्यसबाट आउने प्रतिफलको हिस्सेदार आम जनतालाई बनाउने गरी राष्ट्रिय पूँजीको विकासमा ध्यान दिन उद्योग ब्यापारीहरुलाई आग्रह गरिन् ।
उनले भिनन्, ‘दलाल पूँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठीक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पूँजीको निर्माण गर्दै जाँदा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पूँजीपतिहरुको आत्मविश्वास बढाउँदै उनीहरुलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने र त्यसका लागि स्वयं प्रधानमन्त्रीकै नेतृत्वमा सरकार लागिरहेको पनि मन्त्री शर्माले स्पष्ट पारिन् ।
संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्तिका लागि नेपालमा सरकारी–निजी–सहकारीको तीन खम्बे अर्थनीति अंगालिएको उल्लेख गर्दै उनले यी तीनैवटा क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् ।