काठमाडौं, २ भदौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको कार्यकारी समितिमा ७०वर्षे उमेरहद लागु नगर्ने भएको छ । यसअघि ७० वर्षे उमेरहद राख्ने बताएको थियो । पार्टीको गत असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेरहद लागु गर्नेगरी विधानको मस्यौदा प्रस्तुत गरिएको थियो ।
तर, अधिकांश प्रतिनिधिले उमेरहद लागु गर्नु नपर्ने, बरु एउटै कार्यकालमा लगातार दुई कार्यकाल उठ्न नपाइने व्यवस्था राख्नु सुझाव दिएका थिए । विधान प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।
समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरू रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता दीपेन्द्र झा थिए । समितिले विधानलाई अन्तिम रूप दिँदा उमेरहद प्रावधान नराखिएको जसपाले जनाएको छ । विधानको धारा ८६ मा एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने व्यवस्था राखिएको छ ।
‘निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन’ विधानको धारा ८६ मा भनिएको छ ।
यस्तै, राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ समेत गरी १७ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने विधानमा व्यवस्था छ । राष्ट्रिय महाधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने विधानमा उल्लेख छ ।
पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदमा एकजना महिलासहित सामाजिक समूहको समावेशीता अनिवार्य गर्नुपर्ने छ । सचिवमा समावेशी समूहअनुसार प्रतिनिधित्व गराइने विधानमा उल्लेख छ ।
जसपामा संघीय परिषद् र केन्द्रीय समिति छुट्टाछुट्टै संरचना रहने पनि विधानमा उल्लेख छ ।
सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने छ । केन्द्रीय निकायका अध्यक्षहरू यस समितिका पदेन सदस्य हुने व्यवस्था छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुनेगरी आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण समूह, थारू, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक समुदायका जातीय÷सामाजिक समूहरू बाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित गरिने विधानमा व्यवस्था छ । पदाधिकारीको हकमा भने यो लागु हुने छैन ।
यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने विधानमा राखिएको छ । पार्टी समितिका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने र महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम केन्द्रीय समितिको अध्यक्ष पछि रहने छ विधानमा व्यवस्था छ ।
अध्यक्षसहित बढीमा ९ सदस्यीय केन्द्रीय सचिवालय र महासचिवसहित ५ सदस्यीय केन्द्रीय कार्यालय समिति गठन गरिने छ पनि विधानमा राखिएको छ ।
जसपाले पहिचानमा आधारित प्रादेशिक संरचना बनाउने भएको छ । पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू पनि हुने बताइएको छ । यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित काम गर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।
पहिचानमा आधारित ११ वटा प्रादेशिक संरचनाहरू रहने विधानमा उल्लेख छ। जसमा लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी÷दलित विशेष समिति हुने छन् ।
रातो रङ्गको पृष्ठभूमिमा बिचमा सेतो रङ्गको पाँचकुने तारा रहने गरी जसपाले झण्डाको रङ पनि परिवर्तन गरेको छ। यसअघि जसपाले पृष्ठभूमिमा हरियो रङ प्रयोग गर्दै आएको थियो । यस्तै, रातो रङ्गको गोलाकारभित्र रातो रङ्गको पाँचकुने ताराको बिचमा सेतो रङ्गको हातको मुट्ठी रहने गरी पार्टीको लोगो पनि परिवर्तन गरेको छ ।