जलवायु परिवर्तनले विश्वलाई कसरी असर गर्दैछ, के छन् बच्ने उपाय ?
अखबार टुडे
प्रकाशित:
२०८०, २२ जेष्ठ

काठमाडौं, २२ जेठ (एजेन्सी)। मानवीय गतिविधिका कारण विश्वको तापक्रम बढिरहेको छ र जलवायु परिवर्तनले अहिले मानव जीवनका हरेक पक्षलाई खतरामा पारेको छ । यदि यो मुद्दालाई यसै गरी अनियन्त्रित छोडियो भने, मानव र प्रकृतिले खडेरी, समुद्रको बढ्दो जलस्तर र प्रजातिहरूको सामूहिक विलुप्तताको साथ विनाशकारी गर्मीको लहर अनुभव गर्नेछ ।

जलवायु परिवर्तन भनेको के हो ?
जलवायु भनेको कुनै क्षेत्रको धेरै वर्षको औसत मौसम हो । र जब ती अवस्थाहरूमा औसत परिवर्तन हुन्छ, यसलाई जलवायु परिवर्तन भनिन्छ । आज हामीले जलवायु परिवर्तनमा जुन तीव्र परिवर्तनहरू देखिरेहेका छौँ, त्यो मानिसहरूले आफ्नो घर, कारखाना र यातायातका लागि तेल, ग्याँस र कोइलाको प्रयोगको कारणले गर्दा भएको हो ।

जब यी जीवाश्म इन्धनहरू जल्छन्, यसले ग्रिनहाउस ग्यास छोड्छन् जसमा धेरैजसो कार्बन डाइअक्साइड ग्यास हुन्छ । यो ग्यासले धर्तीको सुरक्षा कवचको काम गर्ने ओजोन पत्रमा क्षति पु¥याउँछ । ओजोन लेयरमा प्वाल परेका कारण सूर्यको गर्मी धर्तीमा आवश्यकताभन्दा बढी पुग्ने गर्छ । यसले धर्तीको तापक्रम बढ्छ ।

यो बढ्दो तापक्रमको असरले हिमनदीको बरफ तीव्र रूपमा पग्लन थाल्छ र समुद्रको स्तर बढ्छ । १९ औँ शताब्दीको तुलनामा विश्व अब लगभग १.१ डिग्री सेल्सियस बढी तातो छ र वातावरणमा सिओटुको मात्रामा ५० प्रतिशतको वृद्धि भएको छ ।

जलवायु वैज्ञानिकका अनुसार यदि हामी जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न चाहन्छौँ भने तापक्रम वृद्धिलाई कम गर्नुपर्ने हुन्छ । उनका अनुसार ग्लोबल वार्मिङको स्तरलाई २१०० ई. सम्म १.५ सी सम्म यथावत् राख्न आवश्यक छ । यद्यपि, यसबारे छिट्टै निर्णय लिइएन र स्थिति यस्तै रह्यो भने पूरा धर्ती २ डिग्री सेल्सियसभन्दा बढी तातो हुनसक्छ ।

स्वतन्त्र क्लाइमेट एक्सन ट्र्याकर ग्रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्तिमसम्म विश्व २.४ डिग्री सेल्सियस वार्मिङतर्फ अघि बढिरहेको छ । यदि केही गरिएन भने वैज्ञानिकका अनुसार भविष्यमा ग्लोबल वार्मिङ ४ डिग्री सेल्सियसभन्दा बढी हुनसक्छ जसले भयानक गर्मी हुनेछ, लाखौँ मानिसले आफ्नो घरलाई समुद्रको बढ्दो जलस्तरमा गुमाउनेछन्, बोटबिरुवा वा जनावरको प्रजातिमा अपरिवर्तनीय क्षति हुनेछ ।

जलवायु परिवर्तनको प्रभाव के हो ?

विश्व भरी बिग्रँदो मौसमका घटना पहिलाभन्दा तीव्र भइरहेका छन् जसले जीवन र जीविकोपार्जनलाई खतरा पैदा भइरहेको छ । धर्तीमा गर्मी यसरी नै बढ्दा केही इलाका बाँझो हुन सक्छन् किनभने खेत मरुभूमिमा परिवर्तन हुनेछन् । पूर्वी अफ्रिकामा लगातार पाँचौँ वर्ष वर्षा भएको छैन । संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले यो कारणले २.२ करोड मानिसलाई भोकमरीको गम्भीर खतरामा पारेको छ ।

अत्यधिक तापक्रमले डढेलोको खतरालाई पनि बढाउन सक्छ, जस्तो कि पछिल्लो गर्मीमा युरोपमा देखिएको थियो । जनवरी र जुलाई २०२२ को बीचमा फ्रान्स र जर्मनीको औसतभन्दा झन्डै सात गुणा बढी जमिन जलेको थियो । गर्मीको मतलब यो पनि हो कि जमेको बरफ छिटो पग्लिनेछ र समुद्रको सतह बढ्नेछ ।

थुप्रै इलाकामा भारी वर्षाका कारण गत वर्ष चीन, पाकिस्तान र नाइजेरिया जस्ता धेरै क्षेत्रमा ऐतिहासिक बाढी आएको थियो । विकासोन्मुख देशहरूमा बसोबास गर्ने मानिसहरूलाई जलवायु परिवर्तनको सामना गर्न थोरै स्रोतहरू भएकाले सबैभन्दा बढी पीडित हुने अपेक्षा गरिएको छ । तर यी देश निराश छन् किनभने उनीहरुले विकसित देशको तुलनामा ग्रिनहाउस ग्यासको कम उत्सर्जन गरेका छन् ।

जलवायु परिवर्तनका कारण पृथ्वीका महासागर र जलचर पनि खतरामा परेका छन् । अप्रिल २०२२ मा अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले प्रकाशित गरेको अनुसन्धानले १० देखि १५ प्रतिशत बीचको समुद्री प्रजाति पहिले नै लोप हुने जोखिममा रहेको बताउँछ । द्रुत गतिमा तातो हुँदै गएको धर्तीमा जीवित प्राणीहरूका लागि आवश्यक भोजन र पानी खोज्न पनि मुस्किल हुनेछ ।

उदाहरणका लागि पोलर बियर (भालु) मार्न सक्छन् किनभने उनीहरू बरफमा बस्छन् र हात्तीले एक दिनमा १५०–३०० लिटर पानी खोज्न सङ्घर्ष गर्नुपर्ने हुन्छ । वैज्ञानिकका अनुसार यदि आवश्यक कदम उठाइएन भने यो शताब्दीमा कम्तीमा ५५० प्रजाति नष्ट हुन सक्छन् ।

जलवायु परिवर्तनले विश्वलाई कसरी असर गर्छ ?
जलवायु परिवर्तनले विश्वभर विभिन्न प्रभाव पार्नेछ । संयुक्त राष्ट्र जलवायु निकाय आईपीसीसीका अनुसार, यदि विश्वव्यापी तापमान वृद्धिलाई १.५सी भित्र राखिएन भने–

– बेलायत र युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्नेछ ।
– मध्य पूर्वका देशहरूले चरम गर्मीको लहर र व्यापक खडेरीको सामना गर्नेछन् ।
– प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू समुद्रमा डुब्न सक्छन् ।
– धेरै अफ्रिकी देशहरूले खडेरी र खाद्यान्न अभावको सामना गर्न सक्छन् ।
– पश्चिमी अमेरिकामा खडेरीको अवस्था सम्भव छ, जबकि अन्य क्षेत्रहरूले अझ तीव्र आँधीहरू देख्नेछन् ।
– अस्ट्रेलियामा अत्यधिक गर्मी र जङ्गलमा लागेको आगोका कारण मृत्यु हुने सम्भावना छ ।

सरकारहरू के गर्दै छन् ?
धेरै देशहरू सहमत छन् कि जलवायु परिवर्तनलाई सँगै काम गरेर मात्र समाधान गर्न सकिन्छ र सन् २०१५ मा पेरिसमा एक ऐतिहासिक सम्झौतामा, ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियससम्म राख्न प्रयास गर्ने वाचा गरिएको थियो ।

नोभेम्बर २०२२ मा, इजिप्टले कप–२७ नामक शिखर सम्मेलनको आयोजना ग¥यो । जहाँ विश्व नेताहरू जलवायु परिवर्तनसँग लड्न नयाँ प्रतिबद्धता गर्न एकसाथ आए ।

धेरै देशहरूले सन् २०५० सम्म ‘नेट जिरो’ लक्ष्य हासिल गर्ने सङ्कल्प गरेका छन् । यसको अर्थ हरित गृह ग्यास उत्सर्जनलाई सकेसम्म कम गर्नु हो र वायुमण्डलबाट समान मात्रामा अव शोषित गरेर बाँकी उत्सर्जनलाई सन्तुलनमा राख्नु हो ।

अहिले पनि वातावरणलाई यस्ता खतराबाट जोगाउन सकिने विज्ञहरू सहमत छन् । तर सरकार, व्यवसायी र नागरिकहरूले अब ठोस परिवर्तन गर्न आवश्यक छ ।

व्यक्तिगत रूपमा के गर्न सकिन्छ ?
ठुला परिवर्तनहरू सरकार र व्यवसायहरूबाट आउने अपेक्षा गरिएको छ, तर वैज्ञानिकहरू भन्छन् कि हाम्रो जीवनमा केही साना परिवर्तनहरूले जलवायुमा हाम्रो प्रभावलाई सीमित गर्न सक्छः

– कम उडान भर्नुहोस् ।
– कार प्रयोग नगर्नुहोस् वा इलेक्ट्रिक कार प्रयोग गर्नुहोस् ।
– मासु र डेरी उत्पादनहरूमा कटौती गर्नुहोस्
– ऊर्जा आवश्यकतामा कटौती गर्नुहोस् ।
– कम ऊर्जा प्रयोग गर्ने चीजहरू किन्नुहोस् ।
– तपाईंको घरको इन्सुलेशनमा सुधार गर्नुहोस् ।
– ग्यास प्रणालीबाट विद्युतीय हिट पम्पहरूमा स्विच गर्नुहोस् ।

प्रतिक्रिया