महानगरले नउठाएपछि मन्त्रालय आफैंले उठाउन थाल्यो सिंहदरबारको फोहोर
अखबार टुडे
प्रकाशित:
२०८०, ५ बैशाख

काठमाडौं, ५ चैत । सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर आफैंले उठाउन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको हो ।

महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालका लागि मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो ।

मेयर साहले फोहोर नउठाउने घोषणा गरेपछि महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाएको छैन । त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

मन्त्रीस्तरीय निर्णयकाआधारमा कार्यालयले परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ ।’

नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाइ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो । तर, काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ ।

मन्त्री गुरुङले काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा सिंहदरबारलाई फोहोरबाट दुर्गन्धित हुन नदिन वैकल्पिक उपाय रोज्नुपरेको बताएकी छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंमात्रै होइन, उपत्यकाका १८ वटा स्थानीय तहको फोहोरमैला व्यवस्थापनको नेतृत्व गर्दै आएको छ । यहाँको फोहोर काठमाडौं, धादिङ र नुवाकोटको सीमा क्षेत्रस्थित ककनी गाउँपालिकाको बञ्चरेडाँडामा लगेर डम्पिङ गर्ने गरिएको छ ।

प्रतिक्रिया