
जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ ।
सोमबार बिहान लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
शनिवार मध्यरातमा व्यथा लागेपछि अनितालाई अस्पताल लगिएको थियो । आइतबार करिब ११ बजे शल्यक्रिया ार्फत सुत्केरी गराइएको थियो । बच्चा सकुशल छन् । तर, आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।
मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य बनेको छ ।
