भारतीय प्रधानमन्त्री मोदीको सम्पति कति छ ?
अखबार टुडे
प्रकाशित:
२०८१, २ जेष्ठ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो ।

बीबीसीले उल्लेख गरे अुनसार प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता गरेका छन् । शपथपत्रमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीसँग भारु ३ करोड २ लाख ६ हजार ८ सय ८९ को चल सम्पत्ति रहेको छ जसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।

यसबाहेक पीएम मोदीसँग चारवटा सुनको औँठी छन् । जसको मूल्य २.६७ लाख रुपैयाँ छ । प्रधानमन्त्रीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।

बीबीसीले उल्लेख गरेअनुसार निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन। सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन ।

प्रधानमन्त्री मोदीलाई अहमदाबादका बासिन्दा भनिएको छ । पीएम मोदीले दिल्ली विश्वविद्यालयबाट १९७८ मा बीए र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए ।

२०१९ को लोकसभा चुनावमा मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रुपैयाँको सम्पत्ति रहेको बताएका थिए। जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो । त्यस्तै, २०१४ लोकसभा चुनावमा उनले कुल सम्पत्ति १.६५ करोड भारु रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया