अमेरिकी संसदमा ११ पटक मतदान, अझै चुनिएनन् सभामुख
अखबार टुडे
प्रकाशित:
२०७९, २२ पुष

वासिङ्टन, २२ पुस (एजेन्सी) । संयुक्त राज्य अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा ११ पटकसम्म मतदान भएपनि सभामुखविहीन भएको छ ।

सभामुख छान्न मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म ११ पटक मतदान भएको थियो । तर कुनै पनि उम्मेदवारले निर्वाचित हुन चाहिने २१८ सांसदको समर्थन पाउन नसकेपछि संसद सभामुखविहीन भएको हो ।

अमेरिकाको तल्लो सदनमा प्रतिपक्षी दल रिपब्लिकनको बहुमत छ । गत नोभेम्बरमा भएको मिड टर्म चुनावमा रिपब्लिकनले २२२ र सत्तारूढ डेमोक्र्याट पार्टीले २१२ सिट जितेका थिए ।

संसदको सभामुख चयन हुन २१८ जना सांसदको भोट पाउनुपर्छ। रिपब्लिकन पार्टीसँग नयाँ सभामुख चुन्न पर्याप्त मत रहे पनि आन्तरिक विवादले नयाँ सभामुख चुन्न सकस भएको हो ।

द न्युयोर्क टाइम्सका अनुसार रिपब्लिकन पार्टीबाट सभामुख बन्न केभिन मकार्थी दौडमा छन् । उनलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन छ । तर मकार्थीले आवश्यक २१८ मत ल्याउन सकेनन् ।

रिपब्लिकन पार्टीका २० जना उग्र दक्षिणपन्थी सांसदले मत नदिएपछि मकार्थी सभामुख बन्न असफल भएका हुन् । ती २० जना सांसदले मकार्थीको विचारधारा भरपर्दो नभएकाले उनीलाई समर्थन गर्न नसकिने बताएका छन् । डेमोक्र्याट पार्टीका २१२ जना सांसद भने आफ्ना उम्मेदवारका पक्षमा एकमत छन् ।

अमेरिकामा राष्ट्रपतिपछि दोस्रो वरीयतामा सभामुख हुन्छन् । संसदमा पार्टीको बहुमत हुँदाहुँदै सभामुख छान्न नसकेपछि रिपब्लिकनहरूले आगामी दुई वर्ष संसद कसरी चलाउँछन् भन्ने प्रश्न उठेको छ । सभामुखको चयन भएर सांसदहरूले सपथ नलिएसम्म अमेरिकी संसदले आफ्ना काम–कारबाही अघि बढाउन सक्दैन ।

अमेरिकाको संसदमा पहिलो पटक भएको मतदानले सभामुख चुन्न नसकेको घटना एक सय वर्षपछि दोहोरिएको हो । सन् १९२३ मा पनि हाउस अफ रिप्रिजेन्टेटिभ्सले ९ पटक मतदान गरेर सभामुख छान्न सकेको थियो । नयाँ सभामुख चुन्न शुक्रबार पनि संसदको बैठक डाकिएको छ ।

प्रतिक्रिया