डा. भगवान कोइरालाको प्रश्न- विशिष्टीकृत बाल अस्पताल नै किन ?
अखबार टुडे
प्रकाशित:
२०७९, १३ भाद्र

नमस्कार !
म डा. भगवान कोइराला । पेसाले शल्यचिकित्सक । २५ वर्ष भयो यही क्षेत्रमा सक्रिय छु । चिकित्सकका रूपमा सुरुवाती केही वर्ष अमेरिका र क्यानडामा काम गरेर अनुभव सँगालें । त्यहाँबाट फर्किएपछि पछिल्लो २१/२२ वर्षदेखि नेपालमै छु । अझ भनौं, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सुरुवाती अवस्थादेखि यहीँ छु ।

बच्चादेखि वयस्कहरूको मुटुको उपचार गरें, गर्दै छु । त्यसैले मेरो चिकित्सकीय पृष्ठभूमि मुटु हो । सरकारी सेवाबाट निवृत्त भएपछि पनि मैले मुटुकै क्षेत्रमा केही गर्छु भन्ने धेरैको अपेक्षा थियो । केही वर्षअघि बालबालिकाका लागि विशिष्टीकृत अस्पतालको अवधारणा घोषणा गर्दा धेरैले सोधे, ‘मुटु अस्पताल नबनाएर किन बच्चाको अस्पताल बनाउने भन्छौ ?’ मानौं, बच्चाको मुटु नै हुँदैन जस्तो ।

तर सन् १९९३ देखि नै हो, बालबालिकाको स्वास्थ्य मेरो चासोको विषय बनेको । उनीहरूको मुटुको समस्या जतिसुकै सानो भए पनि निकै जटिल हुन्छ । ती जटिलताबीचको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने सिकाइ आवश्यक थियो । त्यसका निम्ति सन् १९९९ मा क्यानडास्थित सफल बाल अस्पतलामा तालिमको अवसर पाएँ । अमेरिकाको तालिम अवधि छोट्याएर म त्यतै गएँ ।

तालिम सकेर नेपाल फर्किएपछि बालबालिकाको मुटुको उपचार पनि गर्नैपर्ने भयो । म नेपाल आउँदा नेपालको स्वास्थ्य प्रणाली कहाँ अहिले जस्तो थियो र ? जतिसुकै जटिल समस्या भए पनि वयस्कदेखि बालबालिकाहरूलाई समेत हामीले नै हेर्नुपथ्र्यो ।
त्यसकारण मैले हरेक उमेर समूहको मुटुको स्वास्थ्यलाई आफ्नो जिम्मेवारीका रूपमा बोकेर हिँडें ।

यद्यपि, अन्य देशमा बच्चाको मुटुको स्वास्थ्य हेर्ने चिकित्सकले बच्चाकै मात्र हेर्छन् । वयस्कको गर्नेले वयस्ककै मात्र गर्छन् । हाम्रो देशमा पनि त्यसरी नै सेवा दिन आवश्यक छ भन्ने कुरा मलाई २५ वर्षमा बोध भयो । आफैंले नेतृत्व लिएर केही गर्नुपर्छ भन्ने लाग्यो ।

तर आजका दिनमा त्यति महत्त्वपूर्ण भूमिका गैरनाफामुखी संस्थामार्फत लामो समय र ऊर्जा खर्चिएर मात्र गर्न सकिन्छ । चाह्यौं भने सकिन्छ भन्ने सोच लिएरै म अगाडि बढें ।

हुन त स्वास्थ्य र शिक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । तर आज खुसी के कुराले बनाएको छ भने, मेरो समूहको उद्देश्यमा विभिन्न व्यक्ति वा संस्थाले राज्यको मुख नताकी आफ्नो तर्फबाट साथ दिएका छन् । सहयोग गरेका छन् । त्यस्ता सहयोगले हामीलाई केही सहज बनाएको छ ।

हामीले नवजात शिशुदेखि किशोरावस्थामा रहेकाहरूको स्वास्थ्यलाई सही र स्वस्थ आकार दिन चाहेका हौं ।
त्यसका निम्ति किन म नै चाहियो त ?

यो उद्देश्य मेरो पीडादायी भोगाइहरूको उपज हो । पेसागत एवम् व्यक्तिगत पीडा । त्यो उद्देश्य अघि नसारी स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउन गाह्रो हुन्छ भन्ने लाग्यो ।

हामी दुई करोड ९० लाख हाराहारी नेपाली छौं । उक्त जनसङ्ख््यामध्ये ४० प्रतिशत १८ वर्षमुनिका भाइबहिनी छन् । यो ठूलो सङ्ख््या हो । तर हाम्रा अस्पतालमा हुर्किरहेको त्यही उमेर समूहका निम्ति ३००० भन्दा कम शैया तोकिएको रहेछ । जब कि देशभरका अस्पतालहरूमा करिब २८ हजार शैया छन् । सामान्य हिसाबमा पनि झन्डै आधा जनसङ्ख्याका लागि २८ हजारमध्ये ३ हजार पर्याप्त शैया सङ्ख्या हुँदै होइन ।

शैया अपुग भए बच्चाहरूको स्वास्थ्य के भइरहेको छ भन्ने कुरा उठ्ला ।
उनीहरूले कि त प्राण त्यागिरहेका छन्, या वयस्कहरूले उपचार गरिरहेका छन् । बालबालिकाहरूको पनि उपचार नभएको त होइन । तर जसरी भइरहेको छ, त्यसरी बालबालिकाको ख्याल राखिँदैन । दुनियाँभर यहीँ जसरी उपचार गरेर बच्चाहरू स्वस्थ हुँदैनन् ।

नेपाल सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने १०० जना बच्चा जन्मँदा तीमध्ये तीन जनाको मृत्यु पाँच वर्षको उमेरअघि नै हुन्छ । उनीहरूले आफ्नो पाँचौँ जन्मदिन मनाउन पाउँदैनन् । तथ्याङ्कले जति भयावह अवस्था दर्साउँछ, त्यसमा प्रश्न गर्नेहरू पनि छन् ।

बाल स्वास्थ्य सेवा सुधारमा नेपालमा काम नभएको भने होइन । खोप अभियानदेखि अन्य कार्यक्रम सफल भएका छन् । तर समुदाय स्तरमा के चाहिँ भएको छैन भने, बालबालिका मात्र केन्द्रित पर्याप्त अस्पताल छैन । कान्ति बाहेक विशेषज्ञ सेवा दिलाउने सरकारी अस्पताल छैन ।

केही समयअघि म अमेरिकाको लामो यात्रा सकेर आएँ । करिब २० वटा सहर घुम्दा मैले आफैले उपचार गरेको बिरामी, उनीहरूको परिवार, आफन्त वा साथीभाइहरू भेटेँ ।

पन्ध्र हजार मानिसहरूको शल्यक्रिया गर्दा समूहमा भेटिनेमध्ये कोही एकले चिनेको मानिस भेटिने भइएछ । त्यसमध्ये पाँच हजार बालबालिका होलान् । उनीहरू सानो छँदा हामीलाई उनीहरूको क्षमता थाहा हुँदैन । तर उपचार नपाएको भए उनीहरू भेटिँदैनथे ।

उपचार पाएकै कारण उनीहरू जोगिए । उनीहरूले आफ्नो जीवन अघि बढाएका छन् । बाँच्ने दोस्रो मौका पाए र त अहिले उनीहरूले आफ्नो क्षमताको भरपुर प्रयोग गरिरहेका छन् । जीवनमा दोस्रो मौका पाउनेहरू अलि अलग हुन्छन् ।
त्यसैले हामीले हाम्रा साना नानीहरूलाई जोगाउन हरेक सम्भावित अवसरको सदुपयोग गर्नुपर्छ । उनीहरू भविष्यमा राज्यको लागि वा समाजका लागि हुनेछन् ।

सन् २०२० सम्ममा देशमा बालरोगविज्ञ ६८९ पुगेछन् । ३० हजार डाक्टर हुँदा ४० प्रतिशत जनसङ्ख्यालाई उपचार गर्ने चिकित्सक त्यति मात्र हुन् । बालबालिकाको रेखदेख गर्ने नर्स ६१६ मात्रै छन् । जब कि डाक्टरहरूको तुलनामा नर्स ५ देखि ६ गुणा बढी हुनुपर्ने हो ।

अझै कटु यथार्थ के हो भने, उपलब्ध जनशक्ति वाग्मती प्रदेशमा सीमित छन् । यो समस्या सम्बोधनका निम्ति राज्यले अग्रसरता देखाए राम्रो हुन्थ्यो । किनकि सबै अभिभावकसँग पैसा तिरेर सन्तान जोगाउने क्षमता हुँदैन ।

बितेको २५ वर्षमा धेरै दुःख पाएँ । धेरैसँग लडियो । कति पटक आफ्नै ज्यान जोगाउनसमेत गाह्रो भयो । पछि मैले प्रणालीविरुद्ध लडेरै सरकारलाई जिम्मेवार महसुस गराएँ । सन् २००३ नेपालमा १५ वर्षमुनिका बालबालिकाका जुनसुकै अपरेसनको पैसा लाग्दैन ।
सरकारले गर्न सक्दो रहेछ त ।
हाम्रो उद्देश्य यस्तै किसिमका अत्यावश्यक सेवालाई विकेन्द्रीकृत गर्ने हो । त्यसमा हामीलाई सरकारले सहयोग गरोस् भन्ने हो । अस्पतालको रेखदेख सरकारले गर्ला नगर्ला । तर हामीले बनाउन पहल गर्नुपर्छ ।

योजना चाहिँ काठमाडौँमा एउटा बृहत् क्षमता र सेवा सुविधासहितको अस्पताल सञ्चालन गरेर अन्य प्रदेशहरूमा ७ ओटा अस्पताल बनाउने हो । यो महत्त्वाकाङ्क्षी योजना हो तर नेपाल यस्तो देश हो, जहाँ दुई वर्षअघि मात्र ७ सय ५३ वटा स्थानीय तहमा एकै पटक अस्पताल शिलान्यास भएका थिए ।

स्रोत, साधारण, उपकरण र जनशक्ति नहुन्जेल यो सबै महत्त्वाकाङ्क्षी लाग्न सक्छ । तर सरकारले केही पहल गरे अस्पताल हुन्छ । सरकारले एकै पटक ७५३ वटा अस्पताल हाँक्न सक्छ भने ७ वटा व्यवस्थापन गर्न नसक्ने होइन ।

फेरि यसलाई एकै पटक गर्ने होइन । चरणबद्ध हिसाबमा गर्ने हो । अहिले हामीले एउटा तहमा सुरु गरिसक्यौँ । तर अझै कोष सुरक्षित गर्दै छौँ । पहिले काठमाडौँमा अस्पताल सञ्चालन गरेर यस योजनालाई दिगो प्रमाणित गरेर अरू प्रदेशहरूमा जान्छौँ । रकम तिर्न नसक्ने जनताको खल्तीबाट पैसा नलिनु र अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्नु चुनौतीपूर्ण छ । र हामी प्रस्ट हुनुपर्ने पनि यसै विषयमा हो ।

काठमाडौँको परियोजना ठूलो छ । यद्यपि, यसमा सरकार सहभागी भइसक्यो । त्यसमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहले केही रकम खर्च गरिदिन्छु भनेका छन् । उनीहरूले व्यवस्थापकीय पाटोमा प्रभाव चाहिँ पार्दैनन् । अहिले सरकारले बच्चाको मुटुसम्मको उपचार सित्तैमा गरिराखेको छ । सरकारले ११ ओटा घातक रोगहरूको उपचार खर्च १ लाख दिने गरेको छ । मुटुमा झन् धेरै छ ।

यी सरकारी कार्यक्रम हाम्रो अस्पतालमा पनि सञ्चालन गर्न मन्त्रालयले सम्झौता जनाएको छ । अस्पताल सञ्चालनमा आइसकेपछि सरकारमा समाहित गरिदिने हाम्रो योजना हो । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र दिगो भएको त्यसरी नै त हो । बिमा कार्यक्रम त छँदै छ ।

हाम्रो अस्पतालले समतामूलक सेवामा जोड दिएको छ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् । तिर्न सक्नेले तिर्नुपर्छ । क्याबिनमा उपचार गर्न चाहनेले महँगो तिर्नैपर्छ । उनीहरूसँग पैसा लिने अनि जनरल वार्डमा भर्ना हुन आएका तर पैसा छैन भन्नेलाई नफर्काउने हाम्रो प्रतिबद्धता हो ।

‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी, फन्ड रेजिङ’ हरू त छँदै छ । यो कठिन काम हो तर सरकारी योजनाहरू ल्याउने हो भने सकिन्छ ।

मलाई प्रश्न सोधिन्छ, ‘सरकारी डाक्टर भएर मुटुको क्षेत्रमा केही नगरी, सरकारको सेवा नगरी किन यता लाग्नुभयो ?’
कान्ति अस्पतालले राम्रो काम गरिरहेको छ । तर त्यहाँ सबै विशेषज्ञ सेवा उपलब्ध छैन । शिक्षण अस्पतालमा उपचार गर्दा कान्ति पठाउने अनि कान्तिले मुटुको समस्या भनेर मनमोहनमा पठाउँदा बिरामीहरू उल्झनमा परिरहेका छन् । सबै सेवा एकै ठाउँमा पाएनन् ।

त्यो ठाउँ बनाउन हामीले सरकारलाई सहयोग गर्न लागेका हौँ । आवश्यकता हे¥यो भने यो पहल केही पनि होइन । तर गर्न पैसा पुग्दै पुग्दैन । आम मानिसबाट रकम उठाएर गर्न साध्य छैन । सबैको साथ भए सम्भव छ ।

आफूले उपचार गरेका बच्चाहरूको अरू स्वास्थ्य जटिलता र समयमा उपचार नपाएको कारण मृत्यु हुँदा जुन पीडा भोगेँ, त्यसकै कारण यस अस्पतालको अवधारणा बनाएको हुँ । प्रदेशको संरचना देखेर म त्यहाँ पनि सेवा बिस्तार गर्न उत्साहित भएको हुँ । तर प्रदेशलाई केन्द्रले सहयोग नगरेसम्म दिगो हुँदैन । प्रदेशमा जनशक्ति जुटाउन पनि गाह्रो हुन्छ ।
काठमाडौँमा चाहिँ प्रविधिले पनि साथ दिन्छ ।

झापाको दमकमा पनि एउटा भवन रेडक्रसले उपलब्ध गराएको छ । त्यहाँ २० लाख जनसङ्ख्यामध्ये ८ लाख बालबालिका छन् । उनीहरूका लागि ५० शैयाको अस्पताल बनाउने योजना अबको ३ महिनामा पूरा हुन्छ ।

एउटा अस्पताल चल्न १२ करोड रुपैयाँ आवश्यक पर्छ । हामीलाई आर्थिक सहायता मात्र होइन, नैतिक सहयोगको पनि उत्तिकै खाँचो छ । प्राविधिक सहयोगदेखि तालिमहरू र सहभागिताको पनि खाँचो छ ।

सहयोगअनुरूप अस्पतालको कोठा, विभाग वा भवनहरूको नामकरण गर्नेछौँ । मेरो पुस्तकबाट सङ्कलित रकम पनि यही अस्पतालमा खर्चने योजना पनि सहयोगार्थ नै बनेको हो । यसमा प्रकाशक फाइनप्रिन्टको पनि उदारता झल्कन्छ ।
सञ्चालनमा आएपछि त्यसमा आम मानिसदेखि सरकारको साथ चाहिँ निरन्तर आवश्यक पर्छ ।

प्रकाशित मिति : १३ भदौ, २०७९

-सम्पादकीय नोट : ईमेलबाट प्राप्त डा भगवान कोइरालाको यो सामाग्री जस्ताको तस्तै राखिएको हो ।

प्रतिक्रिया