स्पेनका लागि नयाँ राजदुतसँग नेपालको हस्तकला प्रवद्र्धन गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, १ भाद्र

काठमाडौं, १ भदौं । नेपाल सरकारबाट स्पेनका लागि नवनियुक्त राजदुत शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघले बधाई दिँदै स्पेनमा नेपाली हस्तकला वस्तुहरुको प्रवर्द्वन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष शाक्यबाट नवनियुक्त राजदूतलाई महासंघमा स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे ।

उनले हस्तकला क्षेत्र रोजगारी सिर्जनासँगै विदेशी मुद्रा भित्राउने देशको निर्यातमूलक उद्योग व्यवसाय भएको हुँदा यसको प्रवर्द्वनमा सहयोग गर्न आग्रह गरेका थिए ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा ४ अर्ब रूपैयाँभन्दा बढीको हस्तकलाका वस्तुको निर्यात भएको छ । साथै, सोही परिमाणमा आन्तरिक बजारमा कारोबार भएको अवस्था छ । यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष गरी करिब ८ लाख व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ ।

हस्तकला क्षेत्रले देशको कला र संस्कृतिलाई विश्वसामु परिचित गराएको छ । स्पेनमा नेपाली हस्तकला वस्तुहरुमध्ये फेल्ट, धातुका वस्तु तथा पश्मिनाका वस्तुहरु निकासी हुँदै आएको छ ।

साथै, स्पेनमा नेपाली हस्तकला वस्तुको बजार प्रवर्द्वनको लागि नेपाल एकदेशीय मेला, क्रेता विक्रेता बैठक र स्पेनमा नियमित रुपमा हुने व्यापार मेला प्रदर्शनीहरुमा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताको लागि आवश्यक सहयोग गरि दिनका लागि महासंघका अध्यक्ष शाक्यले नव नियुक्त राजदुत ढकालसँग अनुरोध गरेका छन् ।

सो अवसरमा महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा नेपाल डे को रुपमा हस्तकला प्रदर्शनी गरी यस क्षेत्रको विकास र प्रवर्द्वनमा महत्वपूर्ण भमिका खेल्न सकिने र उक्त प्रयास नवनियुक्त राजदूत ढकालको कार्यकालमा सो कार्य गर्नका लागि अनुरोध गरेका छन ।

साथै स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीहरुको बारेमा सूचना राजदूतावासबाट प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सकिने बताएका छन् । स्पेनमा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन गर्न सकिने बताउँदै उनले स्पेनमा नेपाली हस्तकलाको राम्रो माग र बजार भएको जानकारी गराएका थिए ।

उनले आगामी दिनमा राजदूतावासबाट उपयुक्त स्थान र हस्तकलाका विषयमा स्पेनमा राम्रो प्रचार प्रसारको व्यवस्थापन गरिदिन अनुरोध गरेका थिए । उनले त्यहाँ मेलाको आयोजना र नेपाली कलाकारहरुबाट कलाकृति उत्पादन सम्बन्धी जीवन्त कला प्रदर्शनीको माध्यमबाट नेपाली हस्तकला र पर्यटन उद्योगको प्रवर्द्वन गर्न सकिने सम्भावना रहेको बताएका थिए ।

यस क्रममा निकासीकर्ता डा. गोविन्द टन्डनले राजदूत भएर कुनै देशमा गइसकेपछि के गर्ने भन्ने निश्चित गर्नुपर्ने बताउँदै स्पेनमा नेपाली हस्तकला लगायतका वस्तुहरुको प्रवर्द्वन तथा निकासी अभिबृद्धिका लागि दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं त्यहाँका व्यवसायीहरुबीच भेटवार्ताको वातावरण बनाई बी टु बी कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

यसैगरी निकासिकर्ता सुनिता श्रेष्ठले महिला दिदी–बहिनीहरुबाट स्तरीय फेल्टजन्य वस्तु, सुतिजन्य वस्तुहरु उत्पादन गर्दै आएको बताउँदै महामहिम राजदुतले नेपाली वस्तुहरुबारे राम्ररी जानकारी लिएर जानुपर्ने विचार राखेकी थिइन ।

यसैगरी महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले शुरुमा त्यहाँका चेम्बर, व्यवसायिक संघसंस्थाहरु र व्यापारीहरुको सम्पर्क ठेगाना सहित तथ्य विवरण सूची पठाउन अनुरोध गर्दै आजैबाट त्यहाँ एक हस्तकला मेला आयोजना गर्न पहल शुरु गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघका कार्यसमिति सदस्यहरुले पनि आ आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए । छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रतिष्ठित व्यवसायी चण्डिराज ढकालले यूरोप लगायत विश्व बजारमा नेपालको चिनारी गराउने वस्तुमध्येमा हस्तकला रहेको, हाल यसमा धेरै युवाहरु नयाँ अवधारणासहित लागि परेको अवस्थामा नेपालको प्रतिनिधत्व गर्ने स्पेनस्थित राजदूतावासबाट हस्तकलाको बजार प्रवर्द्वनमुखी विशेष कार्यक्रमहरु गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले आफु यसअघि ओमानका लागि नेपाली राजदूतमा नियुक्ति भई कार्य सम्पन्न गरी सकेको अनुभव सुनाउँदै त्यहाँ नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागि पर्ने बताउँदै नेपाली हस्तकला लगायतका वस्तुहरुको बजार प्रवर्द्वनका लागि सम्भव भएसम्मको पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

सरकारले समेत जोड दिँदै आएको व्यापारिक कूटनीतिमा केन्द्रित भई त्यहाँ पुग्नासाथ आफुले वर्ष दिनमा गर्न सकिने उपयुक्त कार्यक्रमहरुको क्यालेण्डर बनाई अघि बढ्ने दृढता व्यक्त गरेकी थिइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले महामहिम राजदूत ढकाललाई उनको महत्वपूर्ण उपस्थितिका लागि आभार व्यक्त गर्दै उनको कार्यकालको पूर्ण सफलताको कामना गर्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नवनियुक्त राजदूत ढकालबाट महासंघको परिसरमा प्रदर्शित चाँदीजन्य गरगहना, धातुकला, हाते कागजका सामान, प्राकृतिक रेशाजन्य वस्तु, फेल्टजन्य वस्तु, पोतेजन्य वस्तु लगायतका विविध हस्तकला वस्तुहरुको अवलोकन गरेकी थिइन् ।

प्रतिक्रिया