फरक शैलीमा आयो ‘तीज आयो’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ श्रावण

काठमाडौं, ३१ साउन । नेपाली नारीहरुको विशेष पर्व तीज नजिकिँदै छ । तर, तीज अब पर्वमात्र रहेन ।

एउटा समय थियो भोगाइका विविध संगालोहरुलाई बिलौना गरेर बिताइने दिन तीज हुने गथ्र्यो । बुहारीहरुले बर्षभरि भोगेको दुख–पीडा, पिर–व्यथाहरुलाई माइतमा गएर पोखिने बिलौना तीजका भाका, दाना हुने गर्थे । तर आज देशमा आएको परिवर्तनसँगै समाज पनि परिवर्तन भएकोछ ।

देश विदेश भएको छ । र, विदेश, देश भएको छ । यो अहिलको वर्तमान नेपालको वास्तविक कथा–व्यथाभन्दा ज्यादा यथार्थता हो । निरास नभइकन वास्तविकतालाई स्वीकार्नुको विकल्प छैन कि दैनिक घर, गाउँ, टोल, समाज, सहर र आफन्तहरुलाई छाडेर उज्ज्वल भविष्यको लागि विदेशिनेको लर्को हिसाब गरिसक्नु छैन । तर पनि देशमा राजनीतिक, सामाजिक सुधार, विकास प्रगति हुनेछ, चाँडै देशले सही बाटो समात्ने छ, दैनिक गुजाराको लागि विदेशिनुपर्ने दिनको अन्त्य हुनेछ भन्ने आशमा बाँच्नुपर्ने बाध्यता छ ।

यस्तै, यथार्थ र बाध्यताको बीच उदासिएको, अनिश्चित आशा राख्दै रमाएको भावमा जन्मेको छ, गीत ‘तीज आयो’ ।
‘पृथीवी पारी’, ‘म’, ‘सहकारी’, ‘पूर्व जाने रेल’, ‘दुरी’, ‘मनका कुरा’, ‘जुनेरी रात’, ‘तिमीले पनि सताउने’, ‘छैन मेरो साहरा’, ‘रुदा फर्की आउने भए’, ‘गल्ती मेरो’लगायतका गीतहरु बजारमा ल्याइसकेका सर्जकहरु (गीतकार शंकर के राई, संगीतकार तथा गायक डीबी खड्का, गायिका बिनिता ढकाल ‘सिम्रन’ले एउटा मार्मिक कथालाई रोमान्टिक शैलीका तीज गानालाई स्रोता दर्शकमाझ सार्वजनिक गरेका छन् ।

कलाकार तथा नृत्यकारहरु रामभजन कामत, प्रकाश कलेल, सावित्री जीसी, गंगा धिमाल आचार्यसँगै गायक डीबी खड्का र गायिका बिनिता ढकाल (सिम्रन) फिचरिङ गरिएको छ । यस तीज गीतलाई निर्देशक सुमन सागरजंग केसीले पृथक ढङ्गले पस्केका छन् ।

बजारमा आइरहेको भन्दा फरक किसिमको छ तीज आयो । कथानक शैलीमा निर्माण गरिएको यो गीतको अर्को बलियो पक्ष समूह नृत्य (कोरस डान्स) देख्न सकिन्छ ।

टपक्कै टिपिने लय र शैली, नेपालभरि जताततै बोलीमा पाइने झर्रो शब्द र मादल, बाँसुरी, सारंङ्गी बजेको सुन्दा लाग्छ तपाइँको आफ्नै गाउँठाउँमा गाइने गीत हो, यो । यस गानाको भिडियो छायाँकार प्रवेश पोखरेल, सहायक निर्देशक उद्धव बुढाथोकी रहेका छन् भने यसलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

रियाशा इन्टरटेनमेन्टको प्रस्तुतीमा रहेको यस तीज गीत एउटा गाना मात्र नभएर अहिलेको देश र समाजको बिम्ब हो । प्रतिनिधि घटना हो । जसलाई यसका क्रिएटरहरुले कलाको माध्यमबाट स्रोता दर्शकमाझ पस्केका छन् ।

प्रतिक्रिया