काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’मार्फत चर्चामा आएकी बालगायिका एल्जिना राईले लोकप्रिय गायक राजेशपायल राईसँग गाएको युगल गीत सार्वजनिक भएको छ ।
‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलको पछिल्लो लोकप्रिय गीत ‘देम सारो’ बोलको गीतलाई नयाँ भर्सनमा रेकर्ड गरिएको हो । यसअघि नै दर्शक तथा श्रोताले अत्याधिक रुचाएको यस गीतलाई ‘मनै तान्यो मायाले’ शीर्षकमा राजेशपायल र एल्जिनाले गाएका छन् । राजेशपायल राईकै अफिसियल युट्युब च्यालनमार्फत सोमबार सार्वजनिक गरिएको यस गीतलाई स्टुडियोमा छायाँकन गरिएको हो । गीत सार्वजनिक गर्नेवित्तिकै दर्शकले रुचाएका छन् ।
टिका चाम्लिङको शब्दरचना रहेको यस गीतमा संगीत राजेशपायलकै रहेको छ । यो गीतलाई राजेशपायले विभिन्न स्टेज कार्यक्रमहरुमा गाउँदै आएका छन् ।
राजेशपालयले नयाँ प्रतिभाहरुलाई अवसर दिँदै आएका छन् । यसअघि पनि विभिन्न प्रतिभाहरुलाई अवसर प्रदान गरेर चर्चामा ल्याइसकेका छन् । यसैक्रममा पछिल्लो पटक उदयपुरकी माधुर्य स्वरकी धनी एल्जिनालाई आफ्नो चर्चित गीतको नयाँ भर्सन गाउन दिएका हुन् ।
एल्जिना राजेशपायलको डाईहार्ड फ्यान पनि हो । जतिखेर द भ्वाइसमा पार्टिसिपेन्ट गरिरहेकी थिइन्, त्यतिखेर एल्जिना राजेशपायललाई एकपटक भेट्न चाहेको बताएकी थिइन् ।
अहिले उनै राजेशपायलसँग युगल गीत गाएर एल्जिना चर्चामा आएकी छन् । एल्जिनाले हालसम्म थुप्रै गीत गाइसकेकी छन् । एल्जिना भन्छिन्, ‘राजेशपायल राईसँग युगल गीत गाउन पाउँदा एकदमै खुसी छु ।’ एल्जिना एक कुसल गायिका बन्न चाहन्छिन् ।