निगमले पेट्रोल र डिजेलको मूल्य किन घटाएन ?
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, १ साउन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार राती नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको हो ।

तर भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले भने पेट्रोलियम पदार्थमा मूल्य समायोजन नगर्ने भएको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीले घाटा अझै धेरै भएकाले तत्काल मूल्य समायोजन नहुने बताए । घटेको मूल्य सूचीसँगै निगमको घाटा कम हुने निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १४ रुपैयाँ १९ पैसा, डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटामा छ । निगमले हवाइ इन्धनमा केही नाफा गरेको छ । एलपी ग्यासमा १ जुलाइको मूल्य अनुसार ५ सय ८२ रुपैयाँ ४२ पैसा घाटा रहेको तथा मासिक ४ अर्ब ३२ करोड घाटा रहेको निगमले जनाएको छ ।

नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । त्यसमा सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ । त्यस्तै निगमलाई पूर्वाधार शुल्कवापत जेठ महिनाको शोधभर्ना वापत ५९ करोड फिर्ता दिने निर्णय गरेको छ । सरकारले जेठ महिनामा पूर्वाधार शुल्क १० रुपैयाँ घटाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै निगमले उपभोक्तालाई १० रुपैयाँ घटाएको थियो ।

निगमले १३१ रुपैयाँ ९१ पैसामा पेट्रोल, १४६ रुपैयाँ ५२ पैसामा डिजल र १२१ रुपैयाँ ८३ पैसामा मट्टीतेल खरिद गर्छ । सरकारले पेट्रोलबाट ६५ रुपैयाँ ६१ पैसा, डिजेलबाट ४९ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ९५ पैसा कर लिन्छ । निगमले पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ७२ रुपैयाँ र हवाइ इन्धन (आन्तरिक) १९० र हवाइ इन्धन (बाह्य) १ दशमलव ६४५ डलर र एलपी ग्याँस १ हजार ८ सयमा बिक्री गर्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया