हिमालयन र सिभिल बैंकबीच मर्जर हुने, चुक्ता पुँजी २० अर्ब ३० करोड
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

काठमाडौं, २२ असार । हिमालयन बैंकले सिभिल बैंकसँग मर्जर प्रक्रिया अघि बढाएको छ । दुई बैंकबीच आगामी शुक्रबार मर्जरसम्बन्धि सम्झौतामा सहमति हुने भएको हो ।

हाललाई हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिल बैंकको ८१ कित्ता सेयर हुने गरी स्वाप रेसियो तय भएको छ ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र सिभिलको नौ अर्ब सात करोड रूपैयाँ छ । सहमति भएको स्वाप रेसियो अनुसार मर्जर भएमा नयाँ बन्ने बैंकको चुक्ता पुँजी २० अर्ब ३० करोड हुनेछ ।

बैंकमा मर्जरको कारण एक अर्ब ७२ करोड रूपैयाँ सेयर प्रिमियम जम्मा हुनेछ । यस्तो प्रिमियम रकम बोनस सेयर दिन प्रयोग गरिन्छ । मर्जरपछीको चुक्ता पुँजीको आधारमा नै बैंकले ८.४८ प्रतिशत लाभांश दिन सक्ने अवस्था रहन्छ । यो रकम जोडिएपछी भने बैंकको चुक्ता पुँजी कम्तिमा २२ अर्ब तीन करोड रूपैयाँ पुग्नेछ ।

बैंकहरूको स्वाप रेसियो भने सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनले निश्चित गर्नेछ । मर्जरपछी बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने जनाइएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका आशोक राणाले निरन्तरता दिनेछन् ।

यसअघि हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया तोडेको थियो । २०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो ।

१ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकसँग सम्झौता गर्न तयारी गरेको हो ।

प्रतिक्रिया