९ दिनमै बढ्यो इन्धनको मूल्य, अब पेट्रोलको प्रतिलिटर १८१ रूपैयाँ
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं, २० असार । नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ । आज (सोमबार राति) १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो ।

सोमबार साँझ निगमले विज्ञप्ति जारी गर्दै मूल्यबृद्धिबारे जानकारी गराएको हो । यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यस्तै, हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको मूल्य भने यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।

निगमले हालै मात्र अर्थात ११ असारमा आयल निगमले पेट्रोलमा २० रूपैयाँ डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो । निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको जनाएको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई नयाँ मूल्य पठाउँछ ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्कलगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्दै आएको हो । निगमले सोमबार मात्रै सरकारलाई पत्र लेख्दै आर्थिमक जोहो नभए निकट समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न कठिनाइ हुने जनाएको थियो ।

यो समाचार पनि पढ्नु होला

प्रतिक्रिया