आयल निगमले भन्यो- आर्थिक स्रोतको जोहो नभए पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुनसक्छ
अखबार टुडे
प्रकाशित:
२०७९, २० असार

काठमाडौं । घाटा चुलिएर थेग्नै नसक्ने अवस्था भएको भन्दै नेपाल आयल निगमले प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको पत्रमार्फत ध्यानकर्षण गराएको छ ।

सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो ।

निगमका कार्यकारी उमेशप्रसाद थानीले लेखेको पत्रमा ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ’ भनिएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि पत्रमा उल्लेख छ ।

थानीले पत्रमा भनेका छन्, ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ । सरकारलाई भनेका छौं अब जनताले पनि समस्या बुझिदिनुपर्छ ।’ इन्धन खपत कम गर्ने विभिन्न उपाय अवलम्बन गर्न पनि सरकारलाई आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताएका छन् ।

प्रतिक्रिया