नयाँ दिल्ली, ८ असार (एजेन्सी) । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बाउने घोषणा गरेको छ ।
भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आदिवासी नेतृ मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको जानकारी दिए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् ।
निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् । ‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भने ।
मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उनी राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताएका छन् ।
‘उनीसँग राम्रो प्रशासनिक अनुभव छ । उनी हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।
पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उनी भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत थिइन । १८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ । आदिवासी नेतृ मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुनेछ ।
मयूरभन्जको रायरंगपुरबाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपाल थिइन् । भारतमा हाल रामनाथ कोविन्द राष्ट्रपति छन् । उनको कार्यकाल आगामी जुलाई २४ मा सकिंदै छ ।