कुकुरको विषयमा ब्राजिल र मेक्सिकोबीच विवाद
अखबार टुडे
प्रकाशित:
२०८३, २३ जेष्ठ

काठमाडौँ । ब्राजिल र मेक्सिकोबीच हालै एउटा आवारा कुकुरलाई लिएर विवाद चर्किएको छ । यो कुकुरको नाम क्यारामेलो हो। ब्राजिलका नागरिकहरूले यसलाई आफ्नो राष्ट्रिय पहिचानसँग जोड्दै आएका छन् । उनीहरूका अनुसार क्यारामेलो ब्राजिलका लागि फुटबल र सांबा संगीत जत्तिकै महत्वपूर्ण सांस्कृतिक प्रतीक हो ।

तर मेक्सिकोले यसै वर्षको अप्रिलमा क्यारामेलोलाई स्थानीय नस्लका रूपमा मान्यता दिएपछि विवाद सुरु भएको हो । मेक्सिकोको उक्त निर्णयपछि ब्राजिलमा व्यापक असन्तुष्टि देखिएको छ । धेरै ब्राजिलियनले आफ्नो सांस्कृतिक पहिचानको एक हिस्सा खोसिएको महसुस गरेका छन् ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा क्यारामेलो कुनै शुद्ध नस्लको कुकुर होइन । ब्राजिलको आनुवंशिक अध्ययन गर्ने संस्था डिएनए पेट्सको अध्ययनअनुसार यो कुकुर ३०० भन्दा बढी विदेशी नस्लहरूको मिश्रणबाट बनेको हो । यो कुनै एक समयमै विकसित गरिएको नस्ल नभई धेरै पुस्तासम्म विभिन्न नस्लहरूको प्राकृतिक मिश्रणबाट बनेको कुकुर हो ।
‘क्यारामेलो’ शब्द हल्का भूरो वा टफी जस्तो रङका कारण प्रयोग हुँदै आएको हो । ब्राजिलमा यस्ता कुकुरहरू अत्यन्त लोकप्रिय छन् । यिनीहरूबारे सामाजिक सञ्जालमा मीम बन्ने, टी–सर्ट छापिने, गीत बनाइनेदेखि कार्निभल परेडमा समेत झाँकी निकालिने गरिएको छ । कतिपय बहसमा त ब्राजिलको मुद्रामा पनि यसको चित्र राख्ने प्रस्तावसमेत आएको थियो ।

क्यारामेलोलाई राष्ट्रिय सम्पदाका रूपमा मान्यता दिने प्रयास

क्यारामेलो शब्द पुर्तगाली भाषाबाट आएको हो, जसको अर्थ टफी जस्तो हल्का भूरो रङ हुन्छ । यही रङका कारण ब्राजिलमा सडकमा देखिने यस्ता कुकुरलाई क्यारामेलो भनेर चिनिन्छ । सन् २०१९ मा सामाजिक सञ्जालमा यो कुकुर निकै भाइरल बनेको थियो । त्यसपछि ब्राजिलको दश रियालको नोटमा रहेको चराबाट हटाएर क्यारामेलो कुकुरको चित्र राख्नुपर्ने मागसमेत उठेको थियो । यसका लागि सुरु गरिएको याचिकामा करिब ५० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए । सन् २०२३ मा ब्राजिलका सांसदहरूले यी सडक कुकुरलाई राष्ट्रिय सम्पदा घोषणा गर्ने विधेयकसमेत दर्ता गरेका थिए । तर अहिलेसम्म उक्त विधेयक पारित भएको छैन ।

त्यसपछि साओ पाउलो लगायत केही राज्यले आफ्नै स्तरमा यस्ता कुकुरलाई सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिने कानुन बनाएका छन् । रियो द जेनेरियोका केही कुकुर पार्कमा हालै यस्ता भूरा कुकुरको संख्या उल्लेख्य देखिएको छ ।

एक सय वर्षमा विकसित भएको क्यारामेलो

अध्ययनअनुसार क्यारामेलोको इतिहास पुर्तगाली उपनिवेशकालमा ब्राजिल ल्याइएका कुकुरहरूसम्म पुग्छ । त्यसपछि इटाली, जर्मनी, स्पेन र जापानबाट आएका आप्रवासीहरूले पनि विभिन्न नस्लका कुकुर ल्याएका थिए । सन् १९३० देखि १९७० को बीचमा ब्राजिलमा औद्योगिकीकरण तीव्र भयो । त्यस समयमा ग्रामीण क्षेत्रका मानिसहरू सहरतर्फ बसाइँ सर्दा उनीहरूले खेत र पशु जोगाउने कुकुर पनि सँगै ल्याए । सहरमा पहिले नै रहेका साना घरपालुवा कुकुरसँग यी कुकुरको मिश्रण भयो । धेरै पुस्तासम्म बिना नियन्त्रण प्रजनन हुँदै जाँदा आजको क्यारामेलो कुकुरको रूप बनेको मानिन्छ ।

मेक्सिकोमा पनि भेटिए यस्ता कुकुर

अप्रिलमा मेक्सिकोको वातावरण अभियोजक कार्यालयले क्यारामेलोलाई मेक्सिकन नस्लका रूपमा घोषणा गरेको थियो । त्यस वक्तव्यमा देसी तथा आवारा कुकुरप्रतिको नकारात्मक सोच बदल्ने उद्देश्य रहेको बताइएको थियो । मेक्सिकोका पशु अधिकारसँग सम्बन्धित संस्था क्लाउडिया एडवर्ड्सले पनि देशमा यस्ता भूरा कुकुर ठूलो संख्यामा पाइने बताएकी छन् । उनका अनुसार ब्राजिल र मेक्सिकोको समान इतिहास र मौसमका कारण यस्तो अवस्था देखिन्छ । उनले क्यारामेलोलाई कुनै एक देशको मात्र नभई सम्पूर्ण ल्याटिन अमेरिकाको साझा सम्पदा भएको बताएकी छन् ।

तातो मौसममा सहजै घुलमिल हुने क्षमता

ब्राजिलका लगभग सबै शहरमा यस्ता भूरा कुकुर सहजै देखिन्छन् । स्थानीयले उनीहरूलाई खाना खुवाउने र हेरचाह गर्ने पनि गर्छन् । कतिपय ठाउँमा यी कुकुर समुदायकै साझा सदस्यजस्तै बनेका छन् ।
विशेषज्ञहरूका अनुसार यसको हल्का भूरो र छोटो रौँले तातो मौसममा सहज बनाउँछ । शरीरमा कम परजीवी लाग्ने र चर्को घाममा पनि अनुकूल हुन सक्ने क्षमता यसमा हुन्छ । मिश्रित नस्ल भएकाले धेरै जन्मजात रोगको जोखिम पनि कम हुने बताइन्छ । यही कारण यी कुकुर वातावरणअनुसार छिटो घुलमिल हुन सक्ने र बलियो स्वभावका हुन्छन् ।

लोकप्रियता बढे पनि आश्रय गृहमा ठूलो संख्या

क्यारामेलोको लोकप्रियता बढ्दै गए पनि अझै ठूलो संख्या यस्ता कुकुर आश्रय गृहमा बस्न बाध्य छन् । ब्राजिलको ठूलो पशु कल्याण संस्था अम्पाराकी संस्थापक जुलियाना क्यामार्गोका अनुसार धेरैजसो मानिसले अझै यस्ता कुकुरलाई पहिलो रोजाइका रूपमा अपनाउँदैनन् । विश्वव्यापी पशु कल्याण समूहको अध्ययनअनुसार ब्राजिलमा दुई करोडभन्दा बढी आवारा कुकुर छन्, जसमा करिब ९० प्रतिशतभन्दा बढी क्यारामेलो भएको अनुमान छ । जुलियाना क्यामार्गोका अनुसार यदि ब्राजिल र मेक्सिको दुवै देशमा क्यारामेलो कुकुरलाई औपचारिक पहिचान दिइयो भने मानिसहरूलाई यिनलाई अपनाउन थप प्रेरणा मिल्नेछ ।

प्रतिक्रिया