इमाडोलमा आरयु कलेक्शन : डिजाइनर उषा भन्छिन्- ड्रेसहरु भाडामा पनि दिने गरेकी छु
अखबार टुडे
प्रकाशित:
२०७९, ३० जेष्ठ

सोसल मिडियाको बढ्दो प्रभावसँगै समाज ‘फेसन कन्सेस’ बन्दै गएको छ । र, फेसन बजार फस्टाएको छ । सहरमा दिनदिनै फेसन स्टार र बुटिकहरु थपिँदैछन् । भनौ, पछिल्लो समय बुटिक ट्रेण्ड चलेको छ । र, त्यही ट्रेण्डलाई पछ्याउँदै फेसन डिजाइनर उषा राईले ललितपुरको इमाडोलमा ‘आरयु कलेक्शन हाउस’ सञ्चालनमा ल्याएकी छन् । आफ्नो कलेक्शन हाउसले फेसन पारखीहरूको इच्छा पूरा गर्ने फेसन डिजाइनर उषाको भनाइ छ । उषाले अन्य बुटिकहरुभन्दा फरक उद्देश्य लिएकी छन् । फिल्म, म्युजिक भिडियो, फोटोसुटलगायतका लागि उषाले भाडामा समेत पहिरन उपलब्ध गराउने भएकी छन् । मेरो उद्देश्य भनेको ‘हायर एण्ड सेलिङ’ हो’ उषा भन्छिन् । व्यवसायीसँगै आफ्नो क्रियशनलाई बजारीकरण गर्न फेसन बजारमा उदाएकी डिजाइनर उषा राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

बुटिकको बजार कस्तो छ ?
मैले भर्खरै आरयु कलेक्शन हाउस सञ्चालनमा ल्याएको हुँ । छोटो अवधिमा पनि अर्डरहरू आइरहेको छ । अहिलेसम्म ठिकै छ ।

आरयु कलेक्शन नामको अर्थ के हो ?
मेरै नामबाट बुटिकको नाम राखेकी हुँ । उषा राईलाई उल्टोबाट राई उषाको शर्टकट नाम हो, आरयु । कलेक्शन भनेको कलेक्शन नै हो ।

फेसन डिजाइनिङ क्षेत्रमा कसरी लाग्नुभयो ?
सानैमा मलाई ड्रेसहरू बनाउने र सिलाउने रुची थियो । तर, त्यसबेला फेसन डिजाइनरबारे थाहा थिएन । रहरचाहिँ एकदमै लाग्थ्यो । आमाको फरिया च्यातेर लुकीलुकी ड्रेसहरू बनाउँथेँ । तर, फेसन डिजाइनर बनेर यो क्षेत्रमा आउने सोच थिएन ।

सोच्दै नसोचेको क्षेत्रमा कसरी हात हाल्नुभयो ?
यो क्षेत्रमा आउनुभन्दा अघि धेरै संघर्ष गरेकी छु । ग्रामिण विकासको क्षेत्रमा केही गर्ने उद्देश्य थियो । तर, त्यो क्षेत्रमा बढी राजनीति भएको पाएँ । त्यसैले ग्रामिण विकासमा डिग्री गरेर पनि त्यसमा निरन्तरता दिन सकिनँ । त्यसैले सानोतिनो आफ्नै विजनेशलाई रोज्दै जाँदा फेसन डिजाइनिङ रोजेकी हुँ ।

अहिले चर्चित गायिका मेलिना राई आरयु कलेक्शन हाउसमा

अहिले फेसन बजारलाई बुझ्नुभयो त ?
अहिले बुझेरै यो क्षेत्रमा लागेकी हुँ । यो क्षेत्रमा हात हाल्नुभन्दा अघि बजार अवलोकन गरेँ । जसमा बजारमा फेसनको माग बढ्दै गएको पाएँ । त्यसैले मेरो फेसन डिजानिङप्रति रुची बढ्यो । त्यसपछि फेसन डिजाइनिङ कहाँ सिक्ने भन्दाभन्दै आईआईएफटी पुगेँ । अन्तमा आईआईएफटीले मेरो फेसन डिजाइनर बन्ने इच्छा पूरा गरिदिएको छ ।

आमा–बुबाको चाहिँ तपाइँलाई के बनाउने इच्छा थियो ?
म सानै हुँदा बुबा बित्नुभएको हो । आमाले भनेअनुसार त्यो बेला म तीन वर्षकी थिएँ रे । त्यो समयमा छोरीलाई स्कुल पठाउनु हुन्न भन्ने थियो । त्यस्तो समयमा पनि आमाले छोराछोरीलाई पढाउनुपर्छ भनेर पढाउनु भयो ।

पढ्दै गर्दा उद्देश्य के लिनुभएको थियो ?
सोलुखुम्बुको मुक्ली–६ ९हाल थुलुङ दुधकोशी–६०मा जन्मेकी हुँ । मैले गाउँबाटै एसएलसी गरेकी हुँ । त्यसपछि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेँ । धरानमा पढ्दै कम्युटर सिकेँ । सोलुमा कम्युटर इन्स्टिच्युट खोल्ने सोचले २०५७ सालमा कम्युटर सिकेकी थिएँ । धरानमा पढ्दा एउटा पार्टीमा आवद्ध भएर राजनीतिमा समेत सक्रिय थिएँ । विस्तारै राजनीतिप्रति वितृष्णा जाग्यो ।

आरयु कलेक्शनमा गीतकार दर्पण राई, अभिनेत्री तथा गायिका विष्णु चेम्जोङ र गायिका सुजिता योञ्जनसँग उषा राई ।

राजनीतिमा वितृष्णा जाग्नुको कारण के थियो ?
परिवारले एउटा पार्टीमा लाग्नुपर्छ भन्ने तर, मेरो राजनीतिक आस्था र विचार अर्कैतिर थियो । अहिले त्यो पार्टीको नाम नभनौँ । आफूले चाहेको पार्टीमा राजनीति गर्न नपाएपछि इच्छा मरेको हो ।

सोलुमा हुर्किनुभयो, धरानमा पढ्नुभयो । काठमाडौं चाहिँ केका लागि आउनु भएको थियो ?
जागिरका लागि काठमाडौँ आएकी हँुँ । एउटा कम्पनीमा कम्युटर अप्रेटरका रुपमा दुई वर्ष जागिर पनि गरेँ । त्यसपछि जागिर छाडेर पढाइमा लागे ।

तपाइँको खास रुची केमा थियो ?
एसएलसी पढ्दै गर्दा नर्स बन्ने रुची जागेको थियो । त्यसका लागि सिएचडब्लु पढेँ । यो १३ महिने कोर्ष हो । २०५७ सालमा नर्सिङमा पनि नाम निकालेँ । तर, हङकङ गएर चाँडै पैसा कमाउने रहरले नर्सिङ पनि छुट्यो । हङकङ पनि गइनँ ।

अहिले फेसन डिजाइनिङ रोज्नुुभएको छ । यो क्षेत्रमा भविष्य छ ?
फेसन भनेको सबैलाई चाहिन्छ । हरेकलाई फेसन नभइ हुन्न । दिनदिनै समाज फेसन कन्सेस हुँदैछ । फेसन नगरी कोही बाँच्च नक्सने अवस्था आउँदैछ । त्यसैले गर्न सक्यो भने फेसन डिजाइनरको भविष्य एकदमै उज्ज्वल छ ।

बुटिकका लागि इमाडोल किन रोज्नुभयो ?
म यही बस्छु । त्यसैले इमाडोल र आसपासका फेसन पारखीहरूलाई स्तरीय तर, सुलभ मूल्यमा डिजाइनिङ पहिरन उपलब्ध गराउने सोचले यहाँ आरयु कलेक्शन हाउस सुरु गरेकी हुँ ।

आरयु कलेक्शन हाउसको मुख्य विशेषता के छ ?
सबै बुटिकहरूको विशेषता हुन्छ । बुटिक खोलेपछि डिजाइनरले आफ्नै क्रियशन बिक्री गर्ने हो । मेरो पनि त्यही हो । त्यसबाहेक सेलिब्रेटीहरूलाई पहिरन भाडामा उपलब्ध गराउने सोच छ । जुन जोसुकै बुटिकले गर्दैन । मैले चाहिँ ‘हायर र सेलिङ’लाई उत्तिकै महत्व दिएर काम गर्दैछु । यहाँ आउने ग्राहकले अर्डर अनुसारको पहिरन किन्न र किन्न नचाहेमा भाडामा उपलब्ध हुन्छ ।

प्रतिक्रिया