यूक्रेनको सेभरोडोनेट्स्कमा रूसी आक्रमण, ६० प्रतिशत आवासीय भवन ध्वस्त
अखबार टुडे
प्रकाशित:
२०७९, १६ जेष्ठ

कीभ, १६ जेठ (एजेन्सी) । सक्रीय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।

‘रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् । लडाइँ चलिरहेको छ । स्थिति धेरै कठिन छ,’ लुगान्स्क क्षेत्रका गभर्नर सर्गिय गाइदायले सामाजिक सञ्जालमार्फत् बताए ।

युद्धको प्रारम्भिक चरणमा युक्रेनको राजधानी कीभमा आक्रमण गरेपनि कीभलाई पूर्ण रूपमा कब्जा गर्न नसकेपछि रूसी फौजले पूर्वी डोन्बास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको र आफ्नो प्रभाबमा रहेका क्षेत्रहरूलाई सुदृढ पार्ने प्रयास गरिरहेको गभर्नर गाइदायले बताए ।

‘सेभरोडोनेट्स्कको महत्वपूर्ण आधारभूत संरचना ध्वस्त भएको छ र ६० प्रतिशत क्षतिग्रस्त आवासीय भवनहरू पुनः स्थापित गर्न नसकिने गरी ध्वस्त भएका छन्,’ गाइदायले टेलिग्राममार्फत् जारी सन्देशमा भनिएको छ ।

उनका अनुसार त्यस इलाकाका तीन जना डाक्टरको गाडीमा नराम्ररी क्षति भएको छ भने उनीहरू सम्पर्कबिहीन रहेका छन् । दुई जना स्वयम्सेवकलाई गाडी चलाइरहेका समय रूसी फौजले उनीहरूलाई लक्षित गरी आक्रमण गरेको गभर्नरको आरोप रहेको छ ।

मस्कोको सेनाको आक्रमणको प्रमुख उद्देश्य रहेको सम्पूर्ण लुगान्स्क क्षेत्र कब्जा गर्ने रूसको मार्गमा रहेका विभिन्न महत्वपूर्ण शहरी केन्द्रहरूमध्ये करिब एक लाख मानिसहरू बसोबास गर्ने सेभेरोडोनेट्स्क एक हो ।

यसअघि रूसी सेनाहरूले त्यस इलाकाको सानो शहर र पहिलेको रेल केन्द्र लिमानलाई कब्जा गरेको र सेभेरोडोनेट्स्क र यसको नजिकैको शहर लिसिचान्स्कमाथि दबाब बढाएको बताएका थिए ।

प्रतिक्रिया