स्थानीय तह निर्वाचन २०७९ : मतदानअगावै ३९० जना निर्विरोध, कहाँ-को निर्विरोध भए ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ बैशाख


काठमाडौं, २४ बैशाख । स्थानीय तह निर्वाचन आउन अब एक साता मात्र बाँकी छ । तर, मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध भएका छन् ।

राजनीतिक दलहरु चुनावको प्रचारमा व्यस्त रहेका बेला निर्विरोध हुनेहरुको संख्या पनि बढिरहेको हो । निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । यो आयोगकै तथ्यांकले देखाएको हो ।

यही बैशाख ११ र १२ गते ७५३ वटा स्थानीय तह र त्यसका ६ हजार ७४३ वडामा परेको उम्मेदवारीमध्ये उनीहरु निर्विरोध भएका हुन् । निर्वाचनका आयोगका अनुसार सबैभन्दा धेरै १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोस्रोमा खुला वडा सदस्यतर्फ १०१ जना निर्विरोध भएका छन् ।

त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

यसरी निर्विरोध हुनेमा नेकपा एमालेमा धेरै रहेका छन् । एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३७ जना निर्विरोध भएको आयोगले जनाएको छ ।

दोस्रोमा नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् । तेस्रोमा नेकपा माओवादी केन्द्रबाट ६० जना निर्विरोध भएको आयोगले जनाएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट २ अध्यक्षसहित ३५ जना निर्विरोध भएका छन् । ३५ जना निर्विरोध भएको एकीकृत समाजवादीका ६ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, ३५ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वडा अध्यक्षमा एकीकृत समाजवादी बराबर ६ जना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा कम राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना खुला सदस्य निर्विरोध भएका छन् भने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक–एक जना दलित महिला सदस्य निर्विरोध भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पाका दुई गाउँपालिकामा उम्मेदवारी दिएका सबै जना निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादी, कांग्रेस र एमाले तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार डोल्पाको काइके गाउँपालिकामा उम्मेदवारी दिएका ३५ जना नै निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्य गरेर ३७ जना निर्वाचित हुने भए पनि दुई वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा अंगतकुमार रानासहित दुई वडा अध्यक्ष र ६ वडा सदस्य निर्विरोध भएका छन् । गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी नीमा बुढासहित तीन वडा अध्यक्ष र १० जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, एमालेबाट तीन वडा अध्यक्ष र नौ जना वडा सदस्य निर्विरोध भएका छन् । आयोगका अनुसार यहाँ स्वतन्त्रबाट वडा नम्बर २ को वडा सदस्यमा तेजेन्द्रबहादुर बुढा निर्विरोध भएका छन् ।

डोल्पाकै छार्का साङतोङ गाउँपालिकामा पनि अध्यक्षसहित उम्मेदवारी दिने २६ जना निर्विरोध भएका छन् । यहाँको गाउँपालिका अध्यक्षमा पनि एकीकृत समाजवादीले बाजी मारेको छ । जहाँ एकीकृत समाजवादीका सेनाङ गुरुङ गाउँपालिका अध्यक्षसहित दुई जना वडा अध्यक्ष र ६ जना महिला तथा खुला सदस्य निर्विरोध भएका छन् । यस्तै, गाउँपालिका उपाध्यक्षमा एमालेबाट कर्मढुण्डुप गुरुङसहित दुई वडा अध्यक्ष र ६ जना महिला तथा खुला सदस्य निर्विरोध भएका छन् ।

कांग्रेसबाट दुई वडा अध्यक्षसहित ६ जना महिला र खुला सदस्य निर्विरोध निर्वाचित भएका छन् भने गाउँपालिकाको ६ वटै वडाको दलित महिला सदस्यमा उम्मेदवारी नपरेको आयोगले जनाएको छ ।

यस्तै, डोल्पाकै से–फोकसुण्डो गाउँपालिकामा नेकपा एमालेका अध्यक्षसहित ३० जना उम्मेदवार निर्विरोध भएका छन् । गाउँपालिका अध्यक्षमा धावासम्डुक गुरुङसहित ७ जना वडा अध्यक्ष तथा २२ जना विभिन्न क्षेत्रबाट वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष र चार जना वडा अध्यक्षसहित २२ जना जनप्रतिनिधि निर्विरोध भए । यहाँको गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृतकी पेम्माधोर्चे गुरुङ निर्विरोध भएकी छन् भने दुई वडा अध्यक्ष र सात जना वडा सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेसबाट दुई वडा अध्यक्ष र ६ जना वडा सदस्य निर्विरोध भएका छन् । माओवादी केन्द्रबाट चार जना वडा सदस्य निर्विरोध भएका छन् ।

प्रतिक्रिया