गठबन्धनबाट ६ महानगरमा मेयरको उम्मेदवार फाइनल
अखबार टुडे
प्रकाशित:
२०७९, १२ बैशाख

काठमाडौं, १२ वैशाख । । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै उम्मेदवारको टुंगो लगेको छ ।

सोमबार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा मेयर पदको उम्मेदवार टुंगो लगाएसँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै उम्मेदवारको टुंगो लगेको हो ।

कांग्रेस सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको छ ।

गठबन्धनबाटै भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उम्मेदवार रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपाका राजेशमान सिंह रहेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार ६ महानगरपालिकामध्ये काँग्रेसले ३ र माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीले १–१ सिट पाएका थिए ।

प्रतिक्रिया