कतारको विष्फोटमा नेपाली पनि घाइते
अखबार टुडे
प्रकाशित:
२०८३, ९ असार

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय, एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएकाृ बताइएको छ ।

घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेका छन् । उनीहरुको उपचार जारी स्थानीय मिडियाले उल्लेख गरेका छन् । घाइतेहरुको नामावली भने सार्वजनिक गरिएको छैन । ग्यास प्लान्टमा भएको विष्फोटबाट भएको मृत्यु र घाइतेहरुको जानकारी सोमबार कतारका ऊर्जामन्त्री साद अल–काबीले दिएका हुन् ।

दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ । दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ ।

कतारका ऊर्जा मन्त्री साद अल–काबीले यो घटनालाई आक्रमण नभई ‘दुर्घटना’ भनेका छन् । ‘दुर्घटना हो, तोडफोड वा शत्रुतापूर्ण गतिविधि होइन,’ उनले भनेका छन् ।
विगतमा पश्चिम एसिया युद्धका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने क्रममा रस लाफान क्षेत्रमा पनि आक्रमण हुँदा क्षति पुगेको थियो ।

सोमबार पनि विष्फोट र आगलागीको घटनाले आक्रमणको आशंका गरिएको थियो । तर कतार सरकारले आक्रमण नभएको स्पष्ट पारेको छ । विस्फोटको आवाज ६४ किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ उडेको थियो । आइतबार राति नै आगो नियन्त्रणमा लिइसकिएको छ ।

ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन । उनले वातावरणीय प्रभाव पनि नभएको बताएका छन् । रस लाफान क्षेत्रमा यसअघि इरानले आक्रमण गर्दा ठूलो क्षति पु¥याएको थियो, जसका कारण कतारले ग्यास उत्पादन अस्थायी रूपमा रोक्नु परेको थियो ।

प्रतिक्रिया