काठमाडौं, १४ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट आलोपालो हुने गरी तीन जना अध्यक्षमा चुनिएका छन् ।
कुल आचार्य, रविना थापा र बद«ी केसीले पालैपालो ६-६ महिना कार्यभार सम्हाल्ने गरी अध्यक्ष चयन भएका हुन् । महाधिवेशनबाट पहिलो कार्यकालको नेतृत्व कुल आचार्यले गर्नेछन् भने रविना थापा र बद्री केसीले क्रमशः पालैपालो ६-६ महिना कार्यकाल सम्हाल्ने संघले जनाएको छ ।
संघको विधान संशोधन गरेर अध्यक्षसँगै उपाध्यक्ष र सचिवको संख्या पनि बढाइएको छ । ११ जना उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् । त्यस्तै दुई महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम छन् । युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चुनिएका छन् ।
महासचिवमा गौरीराज जोशी र केशव पौडेल छन् । उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी छन् ।
त्यस्तै १० जना सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । महिला दुई सचिवमा अलिनी पोखरेल र टीका गुरुङ छन् ।
यसैगरी कोषाध्यक्षमा ३, सहकोषाध्यक्षमा ८, महिला सहकोषाध्यक्षमा ३, प्रवक्ता २, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २÷२ जना चुनिएका छन् । क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ जना छन् ।
नयाँ नेतृत्वका लागि दुईवर्षे कार्यकालमा ६ महिना समय गुज्रिसकेको छ । अहिले ७४ जना सदस्य निर्वाचित गरिएको छ । महाधिवेशन सकिएसँगै एनआरएनएले विभिन्न प्रतिबद्धतासहितको १४ बुँदे ललितपुर घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘आफूसँग रहेको सीप, पुँजी र प्रविधि नेपाल र नेपालीको हितमा परिचालन गर्न संसारभर रहेका गैरआवासीय नेपाली प्रतिबद्ध छन्, त्यसका लागि आवश्यक कानुनी सुधार एवं उपयुक्त संरचनाको विकासका लागि सरकारका निकायलाई अनुरोध गर्दछौं ।’
बाह्य लगानी आकर्षित गर्न प्रमुख बाधकका रूपमा दोहोरो करको समस्या रहेको भन्दै एनआरएनएले कूटनीतिक नियोग र बढी नेपालीको बसोबास रहेका मुलुकसँग दोहोरो कर उन्मुक्तिको सम्झौता गर्न सरकारसँग माग गरेको छ । संघको संस्थागत सुधारका लागि रणनीति बनाई कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाइएको छ । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई क्रियाशील तुल्याउन संसारभरका कूटनीतिक नियोगसँग सहकार्य गर्न सरकारसँग एनआरएनएले आग्रह गरेको छ ।