युएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार
अखबार टुडे
प्रकाशित:
२०७८, २४ माघ

काठमाडौं, २४ माघ । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।

भिजिट भिसामा युएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएको थियो ।

नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाईं गरेका छन् ।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही रु सात लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको थियो ।

यसैगरी केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई आज स्वदेश फिर्ता गरिएको श्रम काउन्सेलर शत्रुधन पोखरेलले जानकारी दिए ।

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु
वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।
‘काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो’, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, ‘फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।’

पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उहाँले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताए ।

प्रतिक्रिया