सगरमाथामा दुई हजार वर्ष लागेर बनेको हिउँ ३० वर्षमै पग्लियो
अखबार टुडे
प्रकाशित:
२०७८, २३ माघ

काठमाडौं, २३ माघ । सगरमाथा क्षेत्रको हिमनदीमा हिउँ पग्लिने क्रम अत्यधिक बढेको वैज्ञानिक अध्ययनले देखाएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ मेनअन्तर्गतको क्लाइमेट चेन्ज इन्स्टिच्युटका सहभागी वैज्ञानिकहरुका अनुसार सगरमाथाको साउथ कोल ग्लेसियर (८०२० मिटर) र आसपासको हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ २५ वर्षमै पग्लिएको हो ।

हिउँ पग्लिने क्रम सन् १९९० को दशकयता बढेको हो । करिब ३० वर्षको अवधिमा साउथ कोल ग्लेसियरमा हिउँको तह ५४ मिटरले घटेको अध्ययनले देखाएको छ । उक्त हिमनदीमा पहिलो हिउँ जम्न लागेको समयभन्दा पग्लिने गति ८० गुणा बढी छ । यसरी द्रुत गतिमा पग्लिनमा तापक्रम वृद्धि र अन्य मानवीय गतिविधि कारण रहेको उल्लेख छ ।

यसरी सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा १० जना वैज्ञानिक संलग्न थिए । उनीहरुले हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् । बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अनुसन्धानकर्ता डा. पोल मायेव्स्कीले उच्च भागमा द्रुत गतिमा हिउँ पग्लिँदा पिउने पानीको उपलब्धता र सिँचाइमा समस्या निम्तिन सक्ने बताएका छन् । हिमालय क्षेत्र विश्वका करिब एक अर्ब मानिसको पिउने पानीको स्रोत हो । हिउँको मात्रा घट्दा पर्वतारोहणमै पनि चुनौती थपिन सक्ने अनुसन्धानकर्ताहरूले रिपोर्टमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया