काठमाडौं, १३ माघ । नेपाल दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाउने देशको सूचीमा परेको छ । सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् ।
प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् ।
यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी, वाग्मती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् ।
लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने सङ्ख्या १ करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । यसैगरी १ करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।
यसबाहेक सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् । यस्तै १२ देखि १७ वर्षसम्मका ५३ प्रतिशतले पहिलो मात्रा लगाउँदा शून्य दशमलब १ प्रतिशतले पूर्णमात्र लगाएका छन् ।
सरकारले आउँदो चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।