मनाङ, १० माघ । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन भाइरस फैलिरहेको अवस्था छ । यससँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।
पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको मनाङमा सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए ।
शून्य कोरोना सङ्क्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत सङ्क्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताए । उनले भने, ‘अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन् । उनीहरुलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ । शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ ।’
प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना सङ्क्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
दैनिकरूपमा कोरोना सङ्क्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौँ, पोखरा, बँेसीसहरलगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण आग्रह गरेको छ ।
स्थानीयवासी जाडो छल्न बाहिरी जिल्ला गएको र अत्यावश्यक काम परेमा उनीहरु गाउँ फर्किन सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार हिमपात रोकिनासाथ उनीहरु गाउँ फर्किनेछन् ।
नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सोमबारदेखि यहाँ कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको छ महिना पूरा भएका लक्षित वर्गलाई बुस्टर डोज लगाउन सुरु गरिएको बताए ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा अहिलेसम्म शून्य सक्रिय सङ्क्रमित रहेका छन् । गत भदौ २५ गतदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य रहेको उहाँले जानकारी दिए । उनले भने, ‘चार महिनायता मनाङमा सक्रिय सङ्क्रमित नै छैनन् । भदौ २४ गते एकजना सङ्क्रमित पनि निको भएपछि हालसम्म शून्य रहेको छ ।’
मनाङमा दोस्रो चरणको लहर फैलिएयता २२३ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चारजनाको मृत्यु भएको उनले बताए । मनाङको नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइसकिएको आचार्यले बताए ।
मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको विद्यालय चिसोका कारण छिटो बिदा भएपछि यहाँका बालबालिकालाई भने मोर्डना खोप लगाउन नपाइएको उनले बताए । १८ वर्षमाथि उमेर समूहका सबै मनाङवासीले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।