नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने
अखबार टुडे
प्रकाशित:
२०७८, २८ पुष

काठमाडौं, २८ पुस । सरकारले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी हुने बताइरहेका बेला विश्व बैंकले बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।
यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?

माल्दिभ्स : ११ प्रतिशत
भारत : ८.३ प्रतिशत
बंगलादेश : ६.४ प्रतिशत
भुटान : ५.१ प्रतिशत
नेपाल : ३.९ प्रतिशत
पाकिस्तान : ३.४ प्रतिशत
श्रीलंका : २.१ प्रतिशत
प्रतिक्रिया