आर्थिक हैसियत भएका व्यक्ति मात्रै उच्च शिक्षामा पहुँच हुनुहुँदैन: देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, ५ पुष

काठमाडौं, ५ पुष । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारे । प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्ति हुनुपर्दछ ।’ ‘आजको विश्व शैक्षिक बजारमा युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।’

उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे । विश्वविद्यालयलको नेतृत्वले भौतिक, शैक्षिक सुधार तथा विद्यार्थी कल्याण सम्बन्धिका कार्यका साथै स्तरोन्नतिका प्रयासलाई निरन्तरता दिन सुझाव दिए । उनले दीक्षित भएर गएका दिक्षार्थीको अनुहारमा नेपालको सुन्दर मुहारको प्रतिविम्ब देखिरहेको समेत बताए ।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे ।

समारोहमा मन्त्री पौडेलले भने, ‘कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की ? वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ ।’

उनले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिए । उनले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याए । सिकेका सीपलाई राष्ट्र विकासको एक सुत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

उनले उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रष्ट्याउदै देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरे । अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया