एक व्यक्तिको मृत्यु भएपछि महोत्सव सञ्चालन गर्न दिएको अनुमति रद्द
अखबार टुडे
प्रकाशित:
२०८१, १६ पुष

प्यूठान । प्यूठानमा महोत्सव हेर्न गएका एक व्यक्तिको मृत्यु भएपछि महोत्सव सञ्चालन गर्न दिएको अनुमति नगरपालिकाले रद्द गरिदिएको छ ।

महोत्सव हेर्न गएका प्यूठान नगरपालिका वडा नम्बर १ विजुवारका ६० वर्षीय कमल नेपाली अचेत भएका थिए । सोमबार भित्रीकोट प्यूठान महोत्सव हेर्न गएका उनी अचेत भएपछि उपचार गर्न जिल्ला अस्पताल विजुवार लगिएको थियो । उनको सोमबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

यसलगत्तै प्यूठानका मेयर विष्णुबहादुर योगीले महोत्सव सञ्चालनका लागि दिएको अनुमति रद्द गरिदिएका छन् । पुस ५ गतेदेखि सञ्चालन भएको महोत्सव पुस १७ गतेसम्म चल्ने भनिएको थियो । महोत्सव सञ्चालन गर्न दिएको अनुमति मेयरले रद्द गरेकोमा उद्योग वाणिज्य संघले भने दुःख व्यक्त गरेको छ ।

संघका अध्यक्ष प्यारअली खान र सचिव कमल पौडेलले पूर्वनिर्धारित कार्यक्रमअनुसार महोत्सव सञ्चालन गर्न दिइनुपर्ने बताएका हुन् । विवाद समाधान गर्न सरोकारवालाबीच छलफल गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताए ।

प्रतिक्रिया