नेपाल एयरलाइन्सलाई खतराजन्य वस्तु बोक्न पाउने लाइसेन्स
अखबार टुडे
प्रकाशित:
२०७८, २० मंसिर

काठमाडौं, २० मंसिर । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले ‘डेञ्जरस गुड्स सर्टिफाइड एयरलाइन्स’ मान्यता पाएको छ । नेपालको हवाइ नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले एनएसीका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

क्यानका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे ।

पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेक छन् । यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ ।

नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ । यही प्रकृया अन्तर्गत अहिले नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक क्यानबाट खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको हो ।

क्यानले अन्तरराष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ) को मापदण्डअनुसार निगमलाई डेञ्जरस गुड्स क्यारियर मान्यता दिएको हो । खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोजेका सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ ।

वाह्य उडान भरिरहेका निगमका विमानमा हाल १५ टन कार्गो होल (बोक्ने क्षमता भएपनि सामान नपाउँदा खाली हुने अवस्था) रहेको निर्देशक अधिकारीले बताए ।

प्रतिक्रिया