भारतीय अनुमति नपाउँदा दार्चुलाका दुर्गम गाउँमा गणना प्रभावित, उपाय के त ?
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौं, २ मंसिर । केही दिनयता राष्ट्रिय जनगणना भइरहेको छ । देश संघीय संरचनामा गएपछि पहिलोपटक भएको यो जनगणनालाई महत्वका साथ हेरिएको छ । तर, एउटा दुखद् खबर आफ्नै जनताको गणना गर्न छिमेकी मुलुक भारत बाधक बन्यो भन्ने समाचार सुन्दा अवश्य दुःख लाग्ला ।

हो, भारतीय बाटो प्रयोग गर्ने अनुमति नपाउँदा दार्चुलाका दुई दुर्गम गाउँमा गणना गर्न कठिनाइँ भएको छ । उक्त गाउँ जान भारतीय बोटो अपानाउनु पर्छ । किनकि, व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरुंग र तिन्कर गाउँ करिब १२ किलोमिटर दूरीमा छन् । क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा छ । हिउँद लागेपछि ती दुवै गाउँमा बस्न नसकिने हुन्छ ।

प्रत्येक वर्ष तिहार मनाइसकेर त्यहाँका गाउँलेहरू ओरालो लाग्छन् । बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन् । छ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँ फर्किन्छन् ।

बिबिसी नेपालीले जनाएअनुसार त्यस दुर्गम ठाउँमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन् । आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणनाजस्तो महत्त्वपूर्ण कार्य प्रभावित भएको अधिकारीहरू बताउँछन् ।

‘पैदल हिँड्ने गोरेटो पनि ध्वस्त भएको छ । भारतको बाटो हिँड्नुको विकल्प छैन । गणकहरूले त्यहीँ बाटो हिँड्ने अनुमति पाएका छैनन् रे । कहिले आउँछन् टुङ्गो छैन । धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन्’ व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बिबिसीसँग भनेका छन् ।

स्थानीयवासी नरेन्द्र तिन्करी जनगणनालगत्तै गाईबस्तु लिएर खलङ्गा जाने बताउँछन् । ‘चिसो निकै बढिसक्यो । छाङ्ग्रुमा त मङ्सिरको मध्यसम्म बस्न सकिन्छ तर यहाँ सकिँदैन । त्यसैले चाँडोभन्दा चाँडो काम सकिदिए हुन्थ्या’ उनले भनेका छन् ।

भारतको बाटोको भर

सदरमुकामबाट जिल्लाका विभिन्न गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ । सरकारी कामका लागि भारतीय पक्षसँग अनुमति माग्ने गरेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन् । अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुरूप मानिसलाई प्रवेश पत्र दिइन्छ ।

उनका अनुसार जनगणनाका लागि गत कात्तिक २५ गते एकजना गणक पठाउनेगरी पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो ।

‘एक साता बित्दापनि उताबाट जबाफ आएन । हामीले पुनः मङ्सिर एक गते दुईजना कर्मचारीका लागि पास माग्यौँ। जबाफ त आयो तर अनुमति पाएनौँ’ जोशीले बीबीसीसँग भनेकी छन्, ‘जुन बाटो हुँदै छाङ्ग्रु पुगिन्छ त्यो बाटो बिग्रिएको जानकारी पायौँ ।’

भारतले सडक अवरुद्ध भएको जनाउँदै तत्काल अनुमति दिन नसक्ने बताएको हो । दुई महिनाअघि भएको घर तथा घरपरिवार सूचीकरण कार्यका लागि भने सुपरिवेक्षकहरू सोही बाटो हुँदै छाङ्ग्रु र तिन्कर पुगेका थिए ।

सूचीका अनुसार दुई गाउँमा गरी ११५ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घर छन् । ‘मर्मत सम्भार पछि खबर गर्छौँ भनिएको छ । यस विषयमा हामीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छौँ । चाँडै समस्याको समाधान होला । जनगणना त प्रभावित हुन दिनुभएन’ उनको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोखरेलले केही दिनमा सडक मर्मत भई अनुमतिपत्र पठाउन सकिने बताएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला जनगणना समन्वयन समितिसँग सहजीकरण गरी जनगणनाका लागि विकल्प खोज्ने जानकारी दिए ।

जिल्लाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्कीका अनुसार छाङ्ग्रु र तिन्करसम्म कर्मचारीलाई पैदल पठाउनु असम्भव छ । उनले भने, ‘हिँडेर त्यहाँ पुग्न करिब छ दिन लाग्छ । तर हिँड्ने बाटो पनि जोखिमपूर्ण छ ।’

भारतले बाटो प्रयोग गर्न दिए खलङ्गास्थित महाकाली पुल तरेर भारतको धार्चुला पुग्न सकिन्छ । धार्चुलाबाट सवारी साधनमार्फत् व्यास गाउँपालिका जोड्ने पुलसम्म पुगिन्छ ।

कार्कीले भने, ‘उनीहरूको भूमि हामीले चाहँदा प्रयोग गर्न पाउँदैनौँ । प्रक्रियागत ढङ्गमा अगाडि बढ्दा जनगणनाको लागि तोकिएको समय नै सकिएला भन्ने डर छ ।’ जिल्लाको जनगणना अधिकृतको कार्यालयले हेलिकप्टरमार्फत् गणकलाई पु¥याउने र ल्याउने सकिने बताए ।

प्रतिक्रिया