कोभिडविरुद्धको दोस्रो चरणको खोप आजदेखि : कहाँ कहाँ लगाइँदैछ ?
अखबार टुडे
प्रकाशित:
२०७८, ६ बैशाख

काठमाडौं, ६ बैशाख । नेपालमा कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा आज मंगलबारदेखि लगाइँदैछ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले ११ वैशाखसम्ममा ४ लाख ३८ हजारलाई दोस्रो मात्रा कोभिसिल्ड खोप लगाइने बताए । पहिलो चरणमा सरकारले अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाएको थियो । उनीहरुलाई नै दोस्रो मात्रा खोप दिइन लागिएको हो ।
दोस्रो चरणको खोप लगाउन आफूलाई पायक पर्ने खोप केन्द्रमा गई पुरानो खोप कार्ड र परिचय झल्कने अन्य कार्ड देखाउनुपर्ने छ । ‘पहिलो डोजले केही मात्रामा मात्रै काम गर्छ । दोस्रो डोज थपेपछि यसले ७२ देखि ८० प्रतिशतमा काम गर्छ,’ डा. गौतमले भने, ‘एक डोजमात्रै लगायो भने एन्टिबडी केही महिनामा हराएर जान्छ। पहिलो डोज लगाएकाले दोस्रो डोज लगाएन भने कोभिड लाग्ने सम्भावना बढेर जान्छ । त्यही भएर दोस्रो लगाउनुपर्छ ।’
पाँच दिन चल्ने दोस्रो मात्राको खोप अभियानमा मन्त्रालयले माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते खोप लगाउने तालिका बनाएको छ ।
यस्तै १८ माघदेखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका बनाइएको छ ।
मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न २० केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ । खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउन सकिनेछ ।

प्रतिक्रिया