कोरोना भाइरस : उच्च जोखिममा सुदूरपश्चिम प्रदेश
अखबार टुडे
प्रकाशित:
२०७७, २९ चैत्र

सुदूरपश्चिम, २९ चैत । सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । विशेषगरी मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्नेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा जोखिम बढेको हो ।
पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै सुदूरपश्चिममा भारतबाट नेपालीहरु धमाधम आउन थालेका छन् । तर, सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी सचेतनासमेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनो सङ्क्रमण दर बढ्दै गएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा यो रोगको सङ्क्रमण र मृत्यु हुने दर बढेसँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि कोरोना भाइरसको जोखिम बढेको हो ।
जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य रुपमा लगाउन, भीडभाड नगर्न र मास्क लगाएर मात्र भौतिक दूरी कायम गर्दै बाहिर निस्कन आग्रह गरेको भएपनि मास्क लगाउने र भौतिक दूरी कायम राख्नमा अधिकांशबाट लापरवाही हुने गरेको छ ।
रोग फैलिन नदिन सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरे पनि सभा, सम्मेलन, बैठकजस्ता गतिविधि रोकिएका छैनन् ।
प्रदेशका सीमा नाका हुँदै भित्रिने नागरिकको नाकामै एन्टिजेन परीक्षणको काम भइरहेको छ । हालसम्म पाँच हजार ७१ जनाको एन्टिजेन परीक्षण गरिएकामा १४० जनाको नतिजा ‘पोजेटिभ’ आएको जनाइएको छ ।
शनिबारमात्रै प्रदेशको गड्डाचौकी, गौरीफन्टा, जुलाघाट र पुलघाट (दार्चुला) सीमा नाका हुँदै एक हजार ९९१ जना नेपाल भित्रिएकामध्ये शङ्कास्पद ६९९ को एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको छ ।
कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने गर्छ । एन्टिजेनविधि कोरोना परीक्षण गर्ने पिसिआर विधि जस्तै मानिन्छ ।
कुन भाइरस हो भन्ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आउने व्यक्तिको पुनः पिसिआर पद्दतिबाट परीक्षण गर्नुपर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थील बताए ।
एन्टिजेन विधिवाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने जनाइएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत् शङ्कास्पद व्यक्तिको एन्टिजेन गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सीमा नाकाबाट भित्रिनेलाई दश दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
यस प्रदेशमा गएको पुस महिनासम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको तथ्याङ्का स्वास्थ्य निर्देशनालयसँग छ । पुस महिनायता मृत्यु दर शून्य रहेकामा केही दिनअघि मात्र कञ्चनपुरमा एक जना सङ्क्रमितको मृत्यु भएको थियो ।
होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोरोना भाइरसको सङक्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट एक लाख ३८ हजार ३८० को स्वास्थ्य परीक्षण गरिएकामा यीमध्ये १४ हजार १८५ जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया