काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले ओली नेतृत्वको सरकारलाई प्रतिगामी ठहर गर्दै यस्तो निष्कर्ष निकाल्दै बैठकमा सहभागी नेताहरुले नयाँ संयुक्त सरकार गठन गर्नुपर्ने बताए ।
सर्वोच्च अदालतले दुई नेकपाको एकतालाई मान्यता नदिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि नयाँ सत्ता समिकरणबारे छलफल भइरहेको बेला वर्तमान ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा नेकपा माओवादी केन्द्रलगायतका दलहरु पुगेका छन् ।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जसपासँग सत्ता समिकरण गर्न छलफल गर्दै आएको छ । यसैक्रममा आइतबार नयाँ सरकार गठन र सांगठनिक प्रक्रियाबारे छलफल गर्न बसेको माओवादी केन्द्रको बैठकमा शीर्ष नेताहरुले एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपामाथि स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले हमला गरेकाले पार्टी एकताले पूर्णता पाउन नसकेको निष्कर्ष गरेका थिए ।
माओवादी केन्द्रका नेताहरुले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको पनि बताएका छन् ।
‘एकतापछि पार्टीमा क्रान्तिकारी प्रवृत्ति हावी गर्ने हाम्रो चाहाना थियो । तर यसमा प्रतिक्रान्तिकारीहरुले अनेक षड्यन्त्र गरे र अन्त्यमा पार्टी एकता नै भंग हुन पुग्यो । निर्वाचन आयोगले निर्णय गर्न लागेको बेलामा सर्वोच्च अदालतले माग्दै नमागेको फैसला सुनायो र एमाले र माओवादी व्युँत्यायो’ घटनाक्रमबारे नेताहरुले बैठकमा विश्लेषण सुनाएका थिए ।
‘प्रतिगामी र बिसर्जनवादी कोणबाट पार्टीमा हमला भयो’ बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रतिगामी कदम असफल पार्न हामीले संघर्ष गर्यौ । सर्वोच्च अदालतको पछिल्लो फैसला षड्यन्त्रको योजनाअन्तर्गत नै भएको हो भन्ने हाम्रो ठहर छ ।’
बैठकमा बोल्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अधिकांश नेताहरुले क्रान्तिकारी पार्टी बनाउन खोजेपनि केपी ओलीले क्रान्तिकारी पार्टी बन्ने देखेर लगातार आक्रमण गरेको नेताहरुले ब्रिफिङ गरेका छन् ।
नेताहरुले यस्तो आक्रमणले कम्युनिस्ट आन्दोलनको एकीकरण वा विकास र अग्रगमनको यात्रामा बाधामात्र नभएर घट्नाक्रमहरुले बैदेशिक हस्तक्षेपसँग पनि सम्बन्धित भएको पुष्टि गरेको बताएका छन् ।
‘नेपालका कम्युनिष्टहरु मिलेपछि त्यो चाहाना पूरा नहुने भएपछि केपी ओलीलाई निमित्त नायक बनाइयो । संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरपेक्षताको विरोधमा प्रतिक्रान्तिकारीको नयाँ नायक खोजेर ल्याइयो’, प्रवक्ता श्रेष्ठले बैठकमा विश्लेषण गर्दै भने, ‘अब हाम्रो पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनु हो ।’
बैठकमा ओली नेतृत्वको सरकार विस्थापन गर्न माओवादी केन्द्र एक्लैले गर्न नसक्ने भएकाले नेपाली काँग्रेस र जसपासँग सहकार्य गर्न जरुरी रहेको नेताहरुले बताए । ‘यसमा हामी एक्लैले सक्दैनाँै । कम्तिमा दुईवटा शक्ति चाहिन्छ’ प्रवक्ता श्रेष्ठले आफ्नो धारणा सुनाउँदै भने, ‘काँग्रेस, जसपा र माओवादी एक ठाउँमा ल्याएर संयुक्त सरकार निर्माणको पहल भइरहेको छ ।’
बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाउभन्दा काँग्रेसले नमानेपनि अहिले काँग्रेस सकारात्मक भएकाले सहकार्यका लागि जसपासँग पनि विभिन्न ढंगले कुराकानी र छलफल सकारात्मक ढंगले अघि बढिरहेको नेताहरुले बताए ।
‘संयुक्त सरकार बनेपछि सकेसम्म २ वर्ष नै यो संसद टिकाउने हाम्रो उद्देश्य छ’, नेतृत्वको ब्रिफिङ सुनेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलको अवस्थामा पार्टी निर्माणको प्रक्रिया कसरी अघि बढाउने भन्ने दोस्रो प्रश्न छ । यसमा समाजवादी क्रान्तिकारी कार्यक्रम लागू गर्ने वैचारिक राजनीतिक कार्यदिशा हो ।’ पार्टी निर्माणको हकमा ५ हजारको केन्द्रीय समिति बनाउनु नहुने भन्दै नेताहरुले विधि, पद्दति पालना गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिएका थिए ।