उपत्यकामा वायु प्रदुषण : अत्यावश्यकबाहेक बाहिर ननिस्किन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, २१ पुष

काठमाडौं, २१ पुस । दुई दिनयता काठमाडौंमा वायु प्रदुषण खराब भएको छ । प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ । सोमबारबाट सुरु भएको वायु प्रदुषणले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका धुम्म भएको छ ।
आगोको धुँवा, डढेलो, सवारी प्रदुषण, उत्तरी भारतबाट भित्रिएको औद्योगिक प्रदूषणले काठमाडौं उपत्यकाको वायुको गुणस्तर खतराको तहमा पुगेको विज्ञले बताएका छन् । वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुनाले विभागले यो आग्रह गरेको हो । बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।
त्यस्तै तराई क्षेत्रका सहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको सावधानी अपनाउन अनुरोध गरेको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन विभागले अनुरोध गरेको छ ।
विश्व स्वास्थ संगठनको मापदण्डअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) ५० सम्मलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्म एक्युआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । एक्युआई २०१ भन्दामाथि पुगेमा धेरै अस्वस्थकर हुने मानिन्छ । ३०० क्रम गरेमा वायु प्रदूषण डरलाग्दो र धेरै घातक हुने मानिन्छ । सोमबार मंगलबार काठमाडौंको एक्यूआई तीनसय भन्दामाथि रहेको छ । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो सामान्य अवस्था होइन । एक्यूआई तीनसयभन्दा माथि रहेकोले अलि असामान्य अवस्था हो । यो अवस्था अस्वस्थकर र खतरनाक हुने भएकोले सावधानी अपनाउनु जरुरी छ ।
सोमबारदेखि नै काठमाडौंको आकाश धुम्म भएको हो । राजधानीबासीको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने खतरा छ । राजधानीबासीले सोमबारदेखि नै हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन् । अनौठो खालको उकुसमुकुसको अनुभव भइरहेको छ । घाम नलागेपछि तापक्रम घटेको छैन । घाम लागेको दिनभन्दा तापक्रम बढी छ । पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको थियो भने मंगलबार ९ डिग्री मापन भएको छ ।

प्रतिक्रिया