प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख गोयलबीच भेटवार्ता
अखबार टुडे
प्रकाशित:
२०७७, ६ कार्तिक

काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसँग गोयलले शिष्टाचार भेट गरेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सोक्रममा उनले नेपाल र भारतबीच मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा छलफल भएको जनाइएको छ ।
रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’का प्रमुख गोयलसहित भारतीय अधिकारीहरुको बुधबार भारतीय वायु सेनाको विशेष विमानमार्फत नेपाल आएको हो । काठमाडौं बसाइका क्रममा उनले केही अधिकारीसँग अनौपचारिक परामर्श गरेको दाबी स्रोतले गरेको छ । पूर्वप्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गोयलसँग भेट नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । गोयल आजै फर्कँदैछन् ।

प्रतिक्रिया