जीवनशैली

‘बुढा-बुढीको खटपटले माया झन् गाढा’

भूमिका सुब्बा, गायिका

गायिका भूमिका सुब्बा, खाशमा ‘जनवादी गायिका’का रुपमा चर्चित छिन् । तत्कालीन नेकपा (एमाले) अर्धभूमिगत रहेको बेला कम्युनिष्ट जागरण गीत तथा नृत्य गरेर कम्युनिष्ट बनेकी भुमिका भन्छिन्, ‘त्योबेला कम्युनिष्ट भन्ने थाहा थिएन, तर जनवादी कार्यक्रममा रातिराति नाच्न जान्थेँ ।’ ०४८ सालमा नेकपा संसद बसन्त नेम्बाङसँग विवाह गरेकी भूमिकाको पछिल्लो समय भूमिका पनि फेरिएको छ । नेम्बाङ वर्तमान सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् । जसका कारण भूमिका व्यस्त बनेकी छन् । भूमिकाको ‘मालिङ्गो सैसै’, ‘भूमिका’ र ‘संगिनी’जस्ता सोलो एल्बम तथा दर्जनौँ गीत छन् । भूमिकाको हालैमात्र ‘वनचरी’ बोलको गीत आएको छ, जसमा भूमिकाले आफ्नो माइतीगाउँको ‘नोस्टाल्जिया’ प्रस्तुत गरेकी छन् । जनवादी गायिका तथा गीतकार भूमिका सुब्बासँग एमपी सुब्बाको जम्काभेट ।


हालै तपाइँको ‘वनचरी’ रिलिज भएको छ, रेस्पोन्स कस्तो छ ?
– मैले अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया पाइरहेकी छु । मैले भ्युज बढाउँछु भनेर यो गीत गरेकी होइन । तर, सकरात्मक प्रतिक्रियासँगै यु–ट्युब ट्रेण्डिङमा समेत परेको छ ।
गीतमा माइतीको ‘नोस्टाल्जिया’ प्रस्तुत गरेकी छु भन्नुभएको छ । ‘वनचरी’ तपाइँको जीवनमा आधारित छ ?
– हो, वनचरीमा मेरो माइतीघरकै कुराहरु समेटिएकी छु । मेरो माइत झापा, घर पाँचथर । कहिलेकहीँ पाँचथर जाँदा माइतीघर छलेर जानुपर्दा नमिठो लाग्दोरहेछ । त्यही सम्झेर वनचरी गीत तयार गरेकी हुँ ।
कहिलेबाट गाउन सुरु गुर्नभएको हो ?
– बच्चैदेखि भन्नुपर्ला । ११ वर्षकी हुँदादेखि कलाकार भएर हिँड्न थालेकी हुँ । तर, त्योबेला नृत्यकार भएर जनवादी गीतमा नाच्थेँ । मेरो दाईले रातिराति कार्यक्रममा नाच्न लानुहुन्थ्यो । विस्तारै गाउन थालेँ । त्योबेला कम्युनिष्टहरु लुकेर कार्यक्रम गुर्न पर्दथ्यो । मेरो कलाकारिता यात्रा त्यहीबाट सुरु भयो ।
अहिले गीत पनि लेख्नु थाल्नुभएछ ?
– घाँटीले साथ नदिएर गीतकार भएकी हुँ । हुन त स्कुल पढ्दाखेरी कविता, मुक्तकहरु लेख्थेँ । त्योबेला पुरस्कार पनि पाएकी थिएँ । गीत लेखेर रेकर्डिङ गर्न थालेकोचाहिँ २०७२ सालबाट हो ।
कम्युनिष्ट राजनीतिमा कसरी झुकाव हुनुभयो ?
– म हुर्केको घरमै राजनीति माहोल थियो । दाई कम्युनिष्ट राजनीति लाग्नुभएको थियो । त्योबेला म आमाको गर्वमै थिएँ । एक दिन दाईलाई प्रहरीले समातेर लगेछ । आमा दाईलाई भट्न जाँदा गर्वमै थिएँ । त्यसैले म त आमाको गर्वदेखि नै कम्युनिष्ट भएकी हुँ ।
बसन्त नेम्बाङसँग पहिलो भेट कहाँ भएको थियो ?
– अहिलेको संसद विजय सुब्बा मेरो माइला भेना हुन् । उहाँ त्योबेला विराटनगरमा ओभरसियर हुनुहुन्थ्यो । म उहाँहरुसँग बसेर विराटनगरमा पढ्थेँ । यो २०४६ सालतिरको कुरा हो । पछि बिजय सुब्बा (भेना) तेह्रथुमबाट चुनाव जितेर आउनुभयो । त्यसपछि म भेनासँगै काठमाडौं आएँ । बसन्त नेम्बाङ पनि पाँचथरबाट जितेर आउनुभयो । त्यहीबेला भेना (बिजय सुब्बा)ले ‘मेरो साली छ, जोडी सुहाउँछ, विवाह गछौँ’ भन्नुभएछ । त्यसपछि हाम्रो विवाह भएको हो ।
भेनाले जुराइको जोडी, तपाइँहरुबीच प्रेम हुन पाएन है ?
– हो, अरुहरुचाहिँ प्रेम गरेर विवाह गर्छन् । हामीले चाहीँ विवाहपछि प्रेम गरेका हाँै । र, प्रेम गरिरहेका छौँ ।
तपाइँहरुबीच खटपट हुन्छ कि हुन्न ?
– बेला बेला हुन्छ । अगुल्टो पनि नझोसी बल्दैन भन्छन् नि । खटपटले गर्दा माया बढ्छ । सानोतिनो खटपट त सबै दम्पतीको हुनुपर्छजस्तो लाग्छ, किनकि बुढाबुढीको खटपटले माया झन् गाढा हुन्छ ।
श्रीमानको सफलतामा श्रीमतिको कतिको हात हुन्छ ?
– ठूलो हात हुन्छ । अझ राजनीतिकर्मीका लागि श्रीमानको सफलतामा श्रीमतिको झन् महत्वपूर्ण हात हुन्छ । मेरो पनि पृष्ठभूमि राजनीति नै भएकाले एक–अर्काका सहयोग र साथ दुवैमा रहँदै आएको छ ।
उहाँ मन्त्री बनेपछि व्यस्त हुनुहुन्छ । उहाँको काममा कतिको सहयोग गर्नुहुन्छ ?
– बिहानभर उहाँको लत्ताकपडा मिलाइदिनेदेखि डकुमेन्टहरु मिलाइदिनेसम्म सहयोग गर्छु । उहाँको काँधका दुई–दुई वटा मन्त्रालय छ । त्यसैले व्यस्त हुनुहन्छ । उहाँलाई भेट्न आउनेहरु हुन्छन् । उहाँहरुको रेखदेखसम्म मैले गर्छु ।
दृष्टिबाट

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top