सुनसरीमा निषेधाज्ञा, उग्लंघन गरे कडा कारबाही
अखबार टुडे
प्रकाशित:
२०७७, ३० आश्विन

सुनसरी, ३० असोज । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । सर्वसाधारणले लापरबाही गर्दा संक्रमण बढेको भन्दै शुक्रबारबाट जिल्लाभर अनिश्चितकालका लागि निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताएका छन् ।
सुनसरी जिल्ला प्रशासनले जिल्लाका १२ वटै स्थानीय निकायमा राजनीतिक दललाई कार्यक्रम गर्न, मन्दिर, मञ्जिद, गुम्बा, चर्चमा भेला भएर पूजापाठ गर्न, दसैँ–तिहार शुभकामना आदान–प्रदान र शिलन्यास गर्न पुरै प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै संक्रमण फैलिएको प्रशासनको निष्कर्ष छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका हनुसार सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरी सबै स्थानमा प्रहरी परिचालन गरेर कडाई गरिनेछ । शुक्रबारबाट सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, दुहबीलगायतका क्षेत्रमा प्रहरी परिचालन गरी सामूहिक भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ ।
नेपालीको महान चाड दशैं नजिकिँदै गर्दा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिन समेत प्रतिबन्ध लगाइको प्रजिअ पोखरेलले जानकारी दिएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा उग्लंघन गरे जो कसैलाई संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया