अपराध रोक्ने नयाँ रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, २७ आश्विन

काठमाडौं, २७ असोज । गृहमन्त्री रामबहादुर थापाले कोरोना संक्रमणका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।
मंगलबार भर्चुअलरुपमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँशैली बढ्न थालेको बताउँदै यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिए ।
उनले नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्ने भन्दै भने, ‘उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।’ उनले पछिल्लो समय लैंगिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए ।
गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न समेत उनले निर्देशन दिए । प्रहरी समायोजनबारेको प्रस्ताव पास भइसकेको जानकारी दिँदै उनले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाए । उनले दशँै तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिए ।
गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए । कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १ मा आयोजना भएको हो ।

प्रतिक्रिया